१४ जेठ, एजेन्सी । सलमान खानको आगामी फिल्म ‘ट्युबलाइट’मा उनको को–स्टारको रुपमा देखिएकी चर्चित चिनियाँ अभिनेत्री ‘झू झू’ एक गायिका पनि हुन् । झू झूले धेरै चाइनिज र हलिउड फिल्म तथा अमेरिकी टेलिभिजन शोमा पनि काम गरिसकेकी छिन् । अब झू झू ‘ट्युबलाइट’बाट बलिउडमा पनि डेब्यु गर्दैछिन् । यी चर्चित चिनियाँ हस्ति बारेमा थप जान्नुहोस् ।

झू झूले ३ बर्षको उमेरदेखि ‘पियानो’ बजाउँन थालेकी थिइन् । उनले जुनियर स्कूलमा पढ्दा मञ्चमा ‘ब्यूटी एन्ड द बीस्ट’को कथालाई पियानोको धुन मार्फत् प्रस्तुत गरेकी थिइन् । सन् २००५ मा झू झू चीनको चर्चित ‘म्युजिक च्यानल’सँग जोडिइन् र सांगीतिक कार्यक्रम होस्ट गर्न थालिन् । चीनको पेइचिंगमा स्थानिय गायन प्रतियोगिताबाट उनको प्रतिभा बाहिर आयो । त्यसपछि राष्ट्रिय स्तरको गायन प्रतिभामा तेश्रो बनिन् र सन् २००९ मा झू झूूले पहिलो एल्बम निकालेकी थिइन् ।

अभिनेत्री तथा गायिका हुनका साथै झू झू एक सक्षम इन्जिनियर पनि हुन् । उनले पेईचिंगकै विश्वविद्यालयमा पढेकी हुन् । ‘क्लाउड ऐटलस’ र ‘द म्यान विद द आयरन फिस्ट्स’जस्ता हलिउड फिल्ममा सानो – सानो भूमिकामा देखिएकी झू झूले अन्नतः अमेरिकी टेलिभिजन श्रृंखला ‘मार्को पोलो’मा मुख्य भूमिका निभाउँने अवसर पाएकी थिइन् । फिल्म ‘ट्युबलाइट’ आगामी ईदको दिन रिलिज हुनेछ ।