१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

१ लाख ५२ हजार नेपालीको उद्धार

काठमाडौँ — कोभिड–१९ का कारण उत्पन्न असहज परिस्थितिमा विभिन्न ६० वटा मुलुकमा अलपत्र परेका डेढ लाखभन्दा बढी नेपाली उद्धार उडानबाट स्वदेश फर्किएका छन् ।

१ लाख ५२ हजार नेपालीको उद्धार

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का अनुसार जेठ २९ देखि मंसिर पहिलो सातासम्म १ लाख ५२ हजार ३ सय ५९ नेपाली आफ्नै खर्चमा चार्टर उडानमार्फत स्वदेश फर्किएका हुन् ।

फर्किनेमा सबैभन्दा धेरै श्रम गन्तव्य मुलुकमा रहेका नेपाली छन् । जसअनुसार यूएईबाट ४५ हजार ९ सय २८, कतारबाट ३१ हजार ३ सय २३, साउदी अरबबाट १९ हजार ८ सय २१, मलेसियाबाट २० हजार ४ सय ५७, कुवेतबाट ११ हजार ४ सय ७५, जापानबाट ४ हजार ५ सय ३४, टर्कीबाट ४ हजार १ सय ४ र दक्षिण कोरियाबाट २ हजार ६५ जना फर्किएका सीसीएमसीले जनाएको छ ।

लकडाउन गरिएको १ सय ६४ दिनपछि (भदौ १६) मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय उडान सर्सत खुला गरेको थियो । नियमित उडान हुन थालेपछि कात्तिक २४ यता उद्धार उडानसमेत हुन छोडेको छ । तर साउदी अरबले अझै पनि नियमित उडान खुला नगरेकाले चार्टर उडानबाटै नेपालीलाई स्वदेश ल्याउने क्रम जारी रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने बताए ।

उनका अनुसार हिमालय एयरलाइन्सले सातामा ३–४ वटा उडानबाट नेपालीलाई स्वदेश ल्याउँदै आएको छ । सरकारले गत चैत ९ देखि सबै अन्तर्राष्ट्रिय व्यावसायिक उडान बन्द गराएको थियो ।

प्रकाशित : मंसिर ८, २०७७ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?