मुग्लान जानेको लर्को

मुग्लान जानेको लर्को

धनगढी : कैलालीको टीकापुर नगरपालिका–९ झुंगाका सुरेश चौधरीका तीन बहिनी छन्। तर, नजिकै आइरहेको भाइटीका छोडेर उनी भारतको राजधानी दिल्लीतिर लागेका छन्। कैलालीसँग सिमाना जोडिएको भारतको गौरीफन्टा बोर्डरमा लाइन लागेका सुरेश भन्छन् ‘परिवारसँग दसैं मनाउन पाइयो, भाइटीकाभन्दा भोक प्यारो भयो।’

उनले घरमा नुन तेलको पनि गर्जो नटरेपछि भारत हानिएको बताए। कोरोनाका कारण लकडाउन हुने हल्ला चलेकै बेला चैतको पहिलो हप्ता दिल्लीबाट घर फर्केका उनले, नेपालमा सामान्य मजदुरीसमेत नपाएको बताए। ‘पहिला पहिला निर्माण मजदुरको काम त पाइन्थ्यो, लकडाउनपछि धेरै युवाहरू घर फर्र्किए, पहिले दिनको पाउने पाँच सय ज्याला पनि अहिले युवाहरू बढी भएकाले चार सय भयो, त्यसैले भारत जानुको विकल्प देखिनँ,’ उनले थपे। उनीसहितका ८ जना युवाहरूको समूह भारत लागेको हो।

डडेलधुराको नवदुर्गा गाउँपालिका–४ का करनसिंह बोहरा पनि गौरीफन्टा बोर्डरको लामो लाममा भेटिए। उनी जेठको महिना लकडाउनकै बीच घर फर्किएका हुन्। घरमा आमाबुवा, भाइबहिनी सबै छन्, म जेठो हो, घर खर्च नचलेपछि नजिकैको भाइटीका पनि छोडेर भारत हिँडेको,’ उनले भने।

दसैंपछि अहिले भारत जानेहरूको संख्या तीन गुणाले बढेको छ। तिहार छोडेर, कोरोनाको समेत पर्वाह नगरेर उनीहरू भारत जान थालेका हुन्। कैलालीको लम्कीचुहा नगरपालिका–६ का तिलबहादुर ओली श्रीमती र बच्चासहित भारत लागेका छन्। ‘नेपालमा केही काम पाएन, चुनावका बेला नेताहरूले रोजगारी दिलाउने भनी गरेका भाषण सम्झने मात्रै हो, चण्डीगढमा आफन्त छन्, त्यतै केही काम पाइएला कि भनेर हिँडेको,’ उनले भने, ‘पहिलो पटक भारतमा कामको खोजीमा हिँडेको हुँ।’

कैलालीको गोदावरी नगरपालिका–१२ का धनबहादुर चुनारा पनि बुहारी, नातिसहित भारततिर लागेका छन्। ‘छोरा दसैंअघि नै गइहाल्यो, अब तिहार पैसा भएपछि हुने त हो नि !, बुहारीले पनि केही काम गर्छ, छोरा अनि म, तीनै जनाले काम गरे मात्रै केही खर्च बचाउन सकिन्छ,’ उनले भने। उनी लकडाउनका बेला नेपाल फर्केका हुन्। 

अहिले सुदूरपश्चिमका नौवटै जिल्लाबाट भारत जानेको सीमा क्षेत्रमा लर्को छ। कैलालीको धनगढी–गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी–बनबासाबाहेक सबै जिल्लाका नाकाहरू बन्द छन्। त्यसैले पनि प्रदेशका ९ वटै जिल्लामा मानिसहरू गौरीफन्टा र गड्डाचौकी नाका भएर भारत जाने गरेका छन्। 

सीमा नाकामा खटिएको नेपाल प्रहरीको तथ्यांकअनुसार, बडादसैं अथवा कात्तिकको १० गते यता मात्रै १५ हजार नेपाली गौरीफन्टा नाकाबाट भारत गइसकेका छन्। कञ्चनपुरको सीमा प्रहरी चौकी डोकेबजारका प्रहरी नायब निरीक्षक भूपालसिंह थापाले अहिले आउनेभन्दा चारगुणा नेपालीहरू भारत गइरहेको बताए। ‘दैनिक १५ सयदेखि २० हजारको अनुपातमा नेपालीहरू भारत गइरहेका छन्,’ थापाले भने, यसको कारण नेपालमा रोजगारीकै समस्या हो।’ 

नेपालीहरूले भारत जानका लागि आफ्नो नागरिकता वा भारतले दिएको आधारकार्ड अनिवार्य बोक्नुपर्ने नियम भारत सरकारले लगाएको छ। भारतमा यसअघि काम गर्ने नेपालीहरूलाई उनका, मालिकहरूले पनि पास बनाएर बोलाउन थालेका छन्।

भारतमा, नेपालीको श्रम सस्तो छ। सामान्य मजदुरीका लागि नेपालीहरूको श्रम सस्तो भएकाले पनि, स्याउ टिप्ने र संकलन गर्ने, मालिकका गाडीहरू धुने, घरमा सरसफाइ गर्ने, रातिको चौकीदारी गर्ने काममा बढी नेपालीहरू प्रयोग भएका छन्। 
अहिले त्रिनगर नाकामा एक किलोमिटर टाढासम्म भारत जानेको लाम देख्न सकिन्छ। भारतमा अहिले पनि दैनिक ८० हजारभन्दा बढी कोरोनाका बिरामी पुष्टि भइरहेको छ। तर, भोकका अगाडि कोरोना फिक्का परेको छ। ‘रोजगार छैन कसरी दिन  चलाउनु ?,’ कैलाली टीकापुर नगरपालिका–२ सीतापुरका कृष्ण रावलले भने। 

भारत जानेहरूमा प्रदेश सरकार र संघीय सरकारप्रति रोष देखिन्थ्यो। ‘हामी क्वारेन्टाइन बसेका बेला एउटा फाराम भरिएको थियो, त्यसमा मैले पनि बाख्रापालनका लागि पुँजीको माग गरेको थिएँ, एक महिनामा यसको रिजल्ट आउँछ भनेको थियो। तर, पाँच महिना भयो, केही अत्तोपत्तो छैन,’ रावलले भने, ‘सरकारले नेपालको युवा जनशक्तिलाई स्वदेशमै रोक्न विफल भएको छ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.