• ३० जेठ २०८१, बुधबार

सेनाको अगुवाइमा निःशुल्क स्वास्थ्य शिविर

blog

स्वास्थ्य शिविरमा उपचारका लागि आएका विरामीहरु । तस्बिर : यादवराज पुरी

यादवराज पुरी

रौतहट, वैशाख १६ गते । नेपाली सेनाको वीरदल गण रौतहटको अगुवाईमा शनिबार आयोजित स्वास्थ्य शिविरमा आठ सयभन्दा बढी बिरामीले उपचार गराएका छन् । रौतहटको चन्द्रपुर नगरपालिका –८ मा रहेको शिवशक्ति आधारभूत आवासीय विद्यालय मोतिपुरमा सञ्चालित स्वास्थ्य शिविरमा विरामीले निःशुल्क उपचार पाएका हुन् । 

शिविरमा विशेषगरी आँखाका रोगी, भाइरल ज्वरोका विरामीलगायत झाडापखाला पीडित बालबालिकाको उपस्थिति अधिक रहेको चिकित्सकहरुको भनाइ छ । शिविरमा जिल्लास्थित सरकारी तथा निजी अस्पताल र सेनाको चिकित्सकसहितको संयुक्त टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए । विशेषगरी आर्थिक अभावको कारण स्वास्थ्य उपचारबाट वञ्चित चन्द्रपुर नगरपालिकामा रहेका गरिब, दलित तथा पिछडा बर्गलाई लक्षित गरी एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको गणपति प्रमुख सेनानी गंगाबहादुर विष्टले बताउनुभयो । 

शिविरमा औषधि समेत निःशुल्क वितरण गरिएको छ । चन्द्रपुर नगरपालिका, स्थानीय रेडक्रस, औषधि व्यवसायी संघ, ग्रामीण विकास केन्द्र र प्रभु बैंकको सहयोगमा औषधि उपलब्ध भएको हो । 

चन्द्रपुर सरकारी अस्पतालका बालरोग विशेषज्ञ डा. अभिनन्दन श्रीवास्तवले ज्वरो र झाडापखाला लागेका अधिक बालबालिका स्वास्थ्य परीक्षणको लागि शिविरमा आएको बताउनुुभयो ।

आँखा अस्पताल गौरका चिकित्सक चन्दनकुमार चौधरीकाअनुसार शिविरमा आँखाका अधिकांश विरामीमध्ये ५० वर्षभन्दा माथिका उमेर समूहमा मोतिबिन्दुको समस्या देखिएको छ । करिब दुई सयको संख्यामा आँखा जाँचगर्दा ७० प्रतिशत बिरामीमा मोतिबिन्दुको समस्या देखिएको उहाँले बताउनुभयो । 

स्वास्थ्य परीक्षण गराउन शिविर पुग्नुभएका चन्द्रपुर–६ कि ५७ वर्षीया दिलमायाँ कुशुवारले शिविरको डाक्टरले राम्ररी स्वास्थ्य चेकगरी औषधि समेत निःशुल्क उपलब्ध गराएकोमा खुसी व्यक्त गर्नुभयो । “यस्तो शिविर बेलाबेलामा सञ्चालन हुने हो भने आर्थिक अभाव भएका नागरिक पनि स्वास्थ्य सेवाबाट वञ्चित रहनु पर्ने स्थिति आउँदैन” उहाँले भन्नुभयो ।