logo
२०८१ बैशाख १६ आईतवार



साउदीबाट म्याद सकिएका कामदार फिर्ता पठाउन पहल

विदेश |
खुला |


साउदीबाट म्याद सकिएका कामदार फिर्ता पठाउन पहल


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २९ गते । साउदीको रियादस्थित नेपाली राजदूतावासे भिसा म्याद सकिएर नेपाल फर्कने नेपाली नागरिकलाई छिटो पठाउन पहल भइरहेको बताएको छ ।
दूतावासले आज एक सूचना जारी गर्दै रियाद र दम्मामका घरफिर्ति केन्द्रहरूमा नेपाली नागरिकहरुको चाप बढ्दै गएको बताउँदै ती स्थानका कार्यालय प्रमुखहरुसँग भेटगरी नेपाली नागरिकलाई जुनसुकै हवाइ मार्गबाट भए पनि स्वदेश पठाइदिन अनुरोध गरिएको दूतावासले जानकारी गराएको छ ।
संक्रमण नियन्त्रणमा अपनाइने सावधानीकाक्रममा साउदी सरकारले आजैबाट थप देशबाट हवाइ उडान बन्द गर्ने निर्णय गरेको दूतावासले जानकारी गराएको छ ।
साथै साउदी नागरिक र साउदी अरबको मान्य भीसा भएका विदेशी नागरिकहरुले ७२ घण्टा भित्र साउदी आइसक्नुपर्ने गरी समय दिएको छ ।
नेपालबाट हुने हिमालय एलायन्सको सीधा हवाइसेवा र ओमान ट्रान्जिट हुदै सलाम एअरमा हुने नियमित यात्रा गर्न सकिने भए तापनि यो व्यवस्था जुनसुकै बेला पनि हट्न सक्ने सलाम एअर एवं विमानस्थलका अधिकारीहरुले बताएको दूतावासले जनाएको छ ।
नेपाली राजदूतावास रियादले प्रदान गर्दै आएका नेपाली नागरिक सम्बन्धी सेवाहरु यथावत सुचारू रहने जानकारी दिएको छ ।
राजदूतावासको जरुरी काम नपरेमा सार्वजनिक यातायत प्रयोग गरेर वा साथीभाईको समूह बनाएर राजदूतावास नआउन अनुरोध गरेको छ ।
रुघा खोकी लागेमा, ज्वरो आएमा तथा स्वासप्रस्वाशमा समस्या देखिएमा साउदी सरकारले निर्धारण गरेको परीक्षणस्थलबाट सेवा लिने प्रयास गर्नुहुन दुतावासको अनुरोध छ ।
यस राजदूतावासले व्यक्तिको उपस्थितिमा गर्दै आएको मागपत्र प्रमाणिकरणको कार्य यहि चैत्र २, २०७६ (मार्च १५, २०२०) देखि अनलाइन प्रणालीबाट मात्र गर्ने समेत जानकारी गराएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?