कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

दशगजामा ३ हजार थपिए

सीमावर्ती क्वारेन्टाइनमा कोचाकोच, वारिबाट भारतीय र पारिबाट घर आउने नेपालीको चाप बढ्दा दुवैतिरका सुरक्षाकर्मी तनावमा

रुपन्‍देही, बाँके — भारतमा रेल सेवा चालु भएसँगै सीमावर्ती रूपन्देही, कपिलवस्तु र बाँकेको दशगजामा स्वदेश प्रवेशका लागि आउने नेपालीको भीड अझ बढेको छ । बिहीबार रूपन्देही र कपिलवस्तुका दशगजा क्षेत्रमा एक/एक हजार र बाँकेको जमुनाहा नाकामा पनि झन्डै हजार जना जम्मा भएका छन् ।

दशगजामा ३ हजार थपिए

यसअघि सीमा क्षेत्रमा अलपत्र २ हजार ९ सयभन्दा बढीलाई यी जिल्लाका स्थानीय तहले भित्र्याएका थिए । त्यसपछि सजिलै घर जान पाइने विश्वासमा भारतका विभिन्न भागबाट आउनेहरू थपिएका हुन् । यसरी दशगजामा जम्मा भएकाहरू तत्कालै वैधानिक रूपले प्रवेश नपाएपछि लुकीछिपी छिर्छन् । लुकेर आउनेका कारण रूपन्देही र कपिलवस्तुमा गरी बिहीबारसम्म संक्रमितको संख्या ६८ पुगेको छ ।

बिहीबार रूपन्देहीको सुनौली नाकापारि हजार जना हाराहारीमा नेपाली रहेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । ‘नौतनवाको क्वारेन्टाइनमा साढे चार सयजति छन्,’ उनले भने, ‘तीबाहेक सबै बाहिर छन् ।’ पहिलो चरणमा क्वारेन्टाइन अवधि पूरा गरेका पाँच सयलाई बुधबार मुलुक प्रवेश गराइएको थियो । बाँकीलाई कसरी ल्याउने भन्नेबारे छलफल भइरहेको उनले बताए । बुधबार भित्र्याइएकालाई सिद्धार्थनगर र तिलोत्तमा नगरका क्वारेन्टाइनमा राखिएको छ । तिलोत्तमा–१५ को मधवलिया माविमा १ सय ९८ जना छन् । सिद्धार्थनगर नगरपालिकाका चार विद्यालयमा रहेका क्वारेन्टाइनमध्ये निमा प्रतिमा प्रतिष्ठानमा ८७, शैक्षिक तालिम केन्द्रमा ६५, रूपन्देही लीलाराम माविमा दुई सय र भैरहवा नमुना माविमा ६३ जना छन् ।

लीलाराम र भैरहवा माविमा रहेकामध्ये २ सय ५९ जना बुधबार आइपुगेका हुन् । तीबाहेक फाट्टफुट्ट दैनिक दुई/तीन जना आइरहेको नगर उपप्रमुख उमा काफ्लेले बताइन् । ‘मुख्य नाका रहेको नगरपालिका भएकाले लकडाउन सुरु हुनु पहिलेबाटै क्वारेन्टाइनमा मानिस राखिरहेका छौं,’ उनले भनिन् । प्रदेश सरकारले क्वारेन्टाइन व्यवस्थापनका लागि उपलब्ध गराउने भनेको रकम निकासा नदिँदा व्यवस्थापन गाह्रो भइरहेको उनले बताइन् । तिलोत्तमामा २ सय ३३ जना बुधबार आएका हुन् । ३२ जिल्लाका मानिस क्वारेन्टाइनमा रहेको नगरप्रमुख वासुदेव घिमिरेले बताए । ‘परीक्षण नभएसम्म राख्नैपर्छ,’ उनले भने । महिला र बालबालिकालाई शंकरनगरको क्वारेन्टाइनमा राखिएको छ । धेरै भएपछि खाना, सरसफाइ व्यवस्थापनमा अप्ठेरोसँगै स्थानीयले नजिकका विद्यालयमा राख्न नदिँदा समस्या भएको उनले बताए ।

क्वारेन्टाइनमा कोचाकोच

कपिलवस्तुमा एक साता अवधिमा सीमावर्ती स्थानीय तहले दुई हजार सर्वसाधारणलाई दशगजाबाट ल्याएर विभिन्न विद्यालयमा राखेका छन् । दशगजामा बिहीबारसम्म एक हजार जनाभन्दा बढी अलपत्र रहेको सशस्त्र प्रहरी बल २८ नम्बर गणका गणपति जनक पुरीले बताए । ‘उनीहरूलाई क्रमश: ल्याएर क्वारेन्टाइनमा राख्ने तयारीमा छौं,’ उनले भने । क्वारेन्टाइनमा भीड बढेपछि व्यवस्थापनमा चुनौती थपिएको छ । एउटै ठाउँमा धेरै जना कोचाकोच छन् । कपिलवस्तुको कृष्णनगर ठूलो नाका भएको नगरपालिका हो । यहाँ झन्डै नौ सय जना राखिएको नगरप्रमुख रजतप्रताप शाहले बताए । ‘तीमध्ये ५० जनाको स्वाब संकलन भएको थियो,’ उनले भने, ‘१६ जनाको रिपोर्ट आउँदा ८ जनामा संक्रमण पुष्टि भयो ।’

सीमापारिबाट आउने क्रम जारी रहेकाले व्यवस्थापन जटिल भएको उनले बताए । नगरपालिकाका मदरसा र विद्यालय गरी ६४ स्थानमा क्वारेन्टाइन बनाइएको छ । आठ सय जना स्थानीय बासिन्दा भित्रिएका हुन् । क्वारेन्टाइनमा बसेकालाई स्थानीय एक होटलबाट खाना ल्याएर खुवाइन्थ्यो । बुधबार आठ जनामा संक्रमण पुष्टि भएपछि होटलले खाना ल्याउन छाड्यो । केहीलाई चाउचाउ र बिस्कुट खुवाइएको उनले सुनाए । धेरै स्थानीय नै भएकाले उनीहरूका लागि घरबाट खाना ल्याइरहेका छन् ।

कपिलवस्तुको मायादेवी गाउँपालिकाको चाकलचौडा, हरिवंशपुर, गौजा नाकामा बिहीबार भारतबाट आएकाको भीड बढ्न थालेको छ । यसअघि सीमामा अलपत्र परेकालाई गाउँपालिका प्रवेश गराएर विभिन्न क्वारेन्टाइनमा राखिएको छ । त्यहाँ अहिले ४ सय ७८ जना छन् । गाउँपालिकाका ३३ विद्यालयमा उनीहरूलाई राखिएको गाउँपालिका अध्यक्ष बजरंगीप्रसाद कुर्मीले बताए । सुरु सुरुमा संख्या कम भएकाले राख्न गाउँपालिकाले सबै प्रबन्ध गरेको थियो ।

संख्या बढ्दै जाँदा तीन दिनयता भने खाना खुवाउन नसकेर चिउरा, बिस्कुट बाँडिएको कुर्मीले बताए । महाराजगन्ज नगरपालिकामा ९ सय २०, विजयनगर गाउँपालिकामा ३ सय ६५, शिवराज नगरमा २ सय २, वाणगंगा नगरमा ५२, यशोधरा गाउँपालिकामा ६ सय ३८, कपिलवस्तु नगरमा ३ सय ५७, बुद्धभूमि नगरमा ३ सय ६८ र शुद्धोधन गाउँपालिकामा ४ सय ५३ जना क्वारेन्टाइनमा छन् । यहाँ कपिलवस्तुबाहेक अछाम, बर्दिया र दाङसमेतका छन् ।

वारिपारि भीड उत्तिकै

घर फिर्तीको हल्ला चलेपछि भारतमा रहेका नेपाली र नेपालमा रहेका भारतीयको नेपालगन्जको जमुनाहा नाकामा भीड लागेको छ । बिहीबार साँझसम्म वारिपारि दुई हजारको हाराहारीमा भेला भए । नेपाल र भारतीय सुरक्षा अधिकारीबीच वारिपारिका विभिन्न क्वारेन्टाइनमा बसेकाहरूलाई बिहीबार सीमा वारपार गराउने सहमति भएको थियो । तर घर फिर्ता हुन पाउने हल्लाले इँटाभट्टालगायत विभिन्न उद्योगमा काम गर्ने कामदार र पाहुना पुर्‍याउन स्थानीय सीमासम्म पुगे ।

लम्बिएको लकडाउनका कारण दुई मुलुकमा फसेका हजारांैको भीड सीमामा लागेपछि सुरक्षाकर्मीलाई सम्हाल्न धौधौ भएको थियो । नेपालगन्जको सीमावर्ती भारत बहराइच क्षेत्रका क्वारेन्टाइनमा लामो समयसम्म बसेका सात सय नेपालीलाई ल्याउने र कोहलपुर नगरपालिका क्षेत्रका क्वारेन्टाइनमा बसेका एक हजारभन्दा बढी भारतीयलाई पठाउने भनिएको थियो । भारतको नानपारा, रूपैडिहा क्षेत्रमा फसेका नेपाली पनि घर आउन पाउने भन्दै सीमामा आएका थिए ।

भारतबाट आएकाको आरडीटी जाँचपछि मात्रै घर पठाइने भएको छ । सहमति भएको संख्याभन्दा बढी घर फिर्ता हुनका लागि सीमामा जम्मा भएपछि दुई मुलुकका सुरक्षाकर्मी तनावमा छन् । सीमामा आएकाहरूको भीड सम्हान नै उनीहरूलाई गाह्रो परेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले हल्लैहल्लाले सीमामा भीड लागेको बताए । ‘भारतबाट करिब ६ सय नेपाली घर फिर्ता हुन खोजेको खबर थियो । बिहीबार साँझसम्म करिब एक हजार आए,’ उनले भने । नेपालगन्ज उपमहानगर र कोहलपुर नगरपालिकाका क्वारेन्टाइनमा रहेका १ सय ८० भारतीयलाई पारिका सुरक्षा अधिकारीको जिम्मा लगाउने भनिएको थियो । दुई हजारलाई प्रवेश दिन माथिल्लो निकायको आदेश चाहिने भन्दै भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सीमामा रोकेपछि समस्या भएको छ ।

‘हामीले भारतबाट आएका सबै नेपालीको जिम्मा लिन्छौं, तपाईंहरू पनि जिम्मा लिनुस् भनेर आग्रह गरेका छौं । भारतीय अधिकारीहरू सकारात्मक हुनुहुन्छ,’ प्रजिअ खड्काले भने । भारतबाट आउने नेपालीहरू ४७ जिल्लाका छन् । एकैपल्ट धेरैको आरडीटी गर्न नसक्ने स्वास्थ्यकर्मी बताउँछन् । शुक्रबार बिहानदेखि कोरोना जाँच गरिनेछ ।

प्रकाशित : जेष्ठ २, २०७७ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?