• २४ जेठ २०८१, बिहिबार

सहकारीमार्फत कृषिजन्य वस्तुको बजारीकरण

blog

कफी खेती गर्दै ७३ वर्षीय चित्रप्रसाद पाठक । तस्विर– सुजन काफ्ले

सुजन काफ्ले

चरीकोट, वैशाख १६ गते । दोलखाको कालिञ्चोक गाउँपालिकाका कृषकले उत्पादन गरेका वस्तुहरूको बजारीकरण सुरु गरिएको छ । 

गाउँपालिकाको वडा नम्बर ८ सुनखानीमा रहेको निलकमल सहकारी संस्थाले स्थानीय कृषकलाई व्यावसायिक खेतीमा प्रोत्साहित गर्न नकुहिने कृषि उत्पादनको बजार व्यवस्थापन गर्न सुरु गरेको हो  ।

सहकारीका संस्थापक अध्यक्ष एवं व्यवस्थापक टहल आचार्यका अनुसार स्थानीय कृषकहरूले उत्पादन गरेका नकुहिने कृषि उत्पादन तोकिएको मूल्य तिरेर सङ्कलन गरी काठमाडौँलगायतका बजारमा विक्री वितरण गर्दै आएको छ ।

सहकारीले सुरु गरेको सङ्कलन केन्द्रमा सबैभन्दा बढी कफी आउने गरेको सहकारीको कर्मचारी लक्ष्मी भट्टले बताउनुभयो ।

२० जना जति स्थानीय कृषकले सहकारीको सङ्कलन केन्द्रमा कफी विक्रीको लागि ल्याउने गरेको लक्ष्मीको भनाइ छ । एक जना कृषकले सिजनमा पाँच केजी देखि दुई सय केजीसम्म कफी ल्याउने गरेको लक्ष्मीले बताउनुभयो ।

वडा नम्बर ८ सुनखानीका कृषक चित्रप्रसाद पाठक आफूले अहिले सहकारीको सङ्कलन केन्द्रमा झण्डै तीन सय केजीसम्म कफी विक्रीको लागि लाने गरेको बताउनुहुन्छ ।

विगत आठ वर्षदेखि कफी खेती गर्दै आउनुभएका पाठक विगतमा आफैँले काठमाडौँ लगेर कफी विक्री गर्दै आएकोमा अहिले घर छेउकै सहकारीले सङ्कलन केन्द्र स्थापना गरी कृषकको उत्पादन खरिद गरिदिने भएपछि सजिलो भएको बताउनुहुन्छ ।

सहकारीले द लेप्रोसी मिसन नेपालको आर्थिक सहयोग तथा द फ्रेसको हिमालय कम्पनीको सहकार्यमा ४० जना कृषकलाई कफी उत्पादन सम्बन्धी तालिम समेत दिएको छ ।

तालिम लिएका कृषकलाई द लेप्रोसी मिसन नेपाल र द फ्रेसको हिमालय कम्पनीले प्रति कृषक दुई सय बोटको दरले झण्डै आठ हजार कफीको बिरुवा समेत सहयोग गर्न लागेको सहकारीका व्यवस्थापक टहल आचार्यले बताउनु भयो ।

२०७० सालमा स्थापना भएको सहकारीले गत वर्षबाट कृषकले उत्पादन गर्ने कफी, गुन्द्रुक, सिमी, भटमास, बेसार, अदुवा, मास, मस्याङ जस्ता नकुकिने कृषि उत्पादन सङ्कलन गरी काठमाडौँलगायतका ठाउँमा विक्रीmको लागि व्यवस्थापन सुरु गरेको हो ।

सहकारीको अभियानमा वडाको समेत साथ र सहयोग रहने वडा अध्यक्ष बालकृष्ण आचार्यले बताउनुभयो ।