कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महाकालीपारि करिब ५ सय नेपाली अलपत्र 

मनोज बडू

दार्चुला — नेपाल र भारतमा लकडाउनका कारण चार दिनदेखि भारत पिथौरागढ जिल्लाको धारचुलामा करिब पाँच सय नेपाली अलपत्र परेका छन् । शुक्रबार राति सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुल खुलाएर धारचुलामा अलपत्र परेका दुई सय २५ जनाको उद्धार गरे पनि सोही रातिदेखि मानिसहरु थपिँदै आएर सोमबार बिहानसम्म ५ सय पुगेका हुन् ।

महाकालीपारि करिब ५ सय नेपाली अलपत्र 

भारतका विभिन्न ठाउमा मजदुरी गरेर फर्किएका उनीहरूले महाकाली पुलको गेट नखोलिएको भन्दै आइतबार बेलुकातिर सरकारविरुद्ध नाराबाजी गरेका थिए । भारतमा कोरोना संक्रमण फैलिदै गएपछि उनीहरू घर फर्किएका थिए । तर, नेपाल–भारत जोड्ने पुलको गेट बन्द गरिएको हुँदा उनीहरू नेपाल प्रवेश गर्न पाएका छैनन् । सबैलाई राख्न सदरमुकाममा क्वारेन्टाइन नभएको र सरकारले नभन्दासम्म पुल खोल्न पनि नसकिने प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । यसअघि दुई पटक उद्धार गरिसकेको र तेस्रो चरणको उद्धारका लागि पहल भइरहेको उनको भनाइ छ ।

भारतको डिडिहाट, दर र सोबलालगायतका विभिन्न ठाउँहरुमा मजदुरी गर्न पुगेका दार्चुला, बैतडी, बझाङलगायत अन्य जिल्लाका नेपालीहरु धारचुलामा अलपत्र परेका हुन् । भारतमा मजदुरी गर्न गएका तिनीहरुलाई भारतीय पक्षले आफ्नो देश जान भनेपछि नेपाल फर्किन हिँडेका हुन् । पुल क्षेत्रमा सबैभन्दा बढी बैतडी जिल्लाको पुर्चौडी क्षेत्रका मानिसहरु रहेका छन् । ‘भारतको डिडीहाटबाट दुई/तीन दिन हिँडेर धारचुला पुगेको पनि चार दिन भयो । पुल खुल्छ भन्ने आशले यहाँ आएको थिएँ,’ बैतडी पुर्चौडी–३ का पदमबहादुर धामीले भने, ‘साँझ खुल्छ भन्छन् । अहिलेसम्म खुलेको छैन ।’ नेपाल सरकारले आफ्नै नागरिक नचाहिएको जस्तै गरिरहेको उनको गुनासो छ ।

लकडाउनपछि पनि पहिलो दिन धारचुलाको पुल खुलेपछि भारतमा रहेका नेपाली मजदुरहरु आउन थालेका हुन् । उनले भने, ‘कोही पुल खुल्छ भनेर डेरामा बसेका पनि घर फर्कन थाले । अहिले पुल नै खोलिरहेका छैनन् ।’ रोजगारीको सिलसिलामा भारतको विभिन्न स्थान गएका नेपालीहरु भारतले गरेको लकडाउन तथा नेपाली सीमानाका बन्द भएका कारण उनीहरु अलपत्र परेका हुन् ।

डिडिहाटबाट दुई दिनसम्म पैदल हिँडेर थाकेका उनीहरुलाई खाना र बासकै पनि समस्या भएको पुर्चौडी नगरपालिका–३ कै करन धामीले बताए । उनीहरुले महाकाली नदी किनारमै रात गुजारेका छन् ।

प्रकाशित : चैत्र १७, २०७६ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?