यूएईमा रहेका नेपालीमा कोरोना र दुतावासको प्रभावकारिता

मेघराज सापकोटा

काठमाडौँ — विश्व कोरोना भाईरस (कोभिड-१९) को महामारीमा छ । ३४ लाखभन्दा बढी मानिसहरु यसको संक्रमणमा परेका छन् । झण्डै २ लाख ४० हजारजनाको मृत्यु भएको छ । 

यूएईमा रहेका नेपालीमा कोरोना र दुतावासको प्रभावकारिता

विश्वका दुई सयभन्दा बढी देशका नागरिक बसोबास गर्ने युएई पनि यसको महामारीमा नपर्ने कुरै भएन । मध्यपूर्बमा साउदी अरबपछि सबैभन्दा बढी संक्रमणमा परेको राष्ट्र युएई नै हो । शनिबारसम्म युएईमा १३ हजार ३८ जनामा यो संक्रमण देखिएको छ भने १ सय ११ जनाको मृत्यु भइसकेको युएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मंगलबारसम्म २५ सय ४३ जनाले स्वास्थ्यलाभ गरिसकेका छन् ।

विश्वभरमा ४१ लाखभन्दा बढी नेपालीहरु बैदेशिक रोजगारमा रहेका छन् । नेपाली दुताबास अबुधाबीले दिएको पछिल्लो तथ्यांकअनुसार युएईमा २ लाख ७५ हजार नेपालीहरु कार्यरत छन् । तीमध्ये पनि अधिकांश नेपालीहरु ब्लु कलर अर्थात 'नन स्किल्ड' कामदार छन् । केही थोरै नेपालीहरु मात्रै सेक्युरिटी, हस्पिटालिटी, अफिस, सेल्स र ब्यापार ब्यवसाय गर्दछन् ।

विश्व नै कोरोनाको महामारीमा परेको बेला युएईमा रहेका नेपालीहरुको अवस्था पनि के कस्तो छ भन्ने चासो हुनु स्वाभाविक छ । युएईस्थित नेपाली दुतावाससँग कति नेपालीहरु यो भाईरसको संक्रमणमा परे र कति नेपालीहरुले सफल उपचार पाए भन्ने अधिकारिक तथ्यांङ्क छैन । अथवा सो तथ्यांङ्क बाहिर ल्याउन सकेको छैन । कति नेपालीहरुले ज्यान गुमाउनु परेको छ भन्नेसम्मको पनि जानकारी यहाँको सरकारसँग दुतावासले लिन सकेको छैन । नेपाली दुतावाससँग तीन हप्ता पहिलेको तथ्यांक छ, जसअनुसार जम्मा ११ जना नेपालीहरु यसको चपेटामा परेका छन् । २ जना निको भएका छन् भने ९ जना उपचाररत छन् ।

दुतावासले यो तथ्यांक् अहिलेको मितिमा मिथ्यांक हो भन्दा फरक पर्दैन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्रकाशित गरेको पछिल्लो तथ्यांङ्क अनुसार ८१ जना नेपालीहरु कोरोना भाईरसबाट संक्रमित भएका छन् भने २ जनाको मृत्यु भएको छ । एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइरालाका अनुसार एक हप्ताअघिसम्म युएईमा ८२ नेपाली संक्रमित भएका छन् भने ३ जनाको मृत्यु भएको छ । ४ जना नेपाली सफल उपचार पाएर अस्पतालबाट फर्केका छन् ।

एनआरएनए युएईका उद्दार तथा राहत टोलीका सदस्य सुजन सापकोटाका अनुसार केही दिनअघिसम्म ८६ जना नेपालीहरु संक्रमित भएका छन् भने ३ जनाको मृत्यु भएको छ । साथै ७ जना नेपालीहरु उपचार पाएर निको भएका छन् । यसैलाई आधार मान्ने हो भने यस अवधिमा यो संख्या बढेर सयको हाराहारीमा नेपालीहरु संक्रमित भएको अनुमान सजिलै गर्न सकिन्छ ।

नेपालीहरुमा यस महामारी सँगसगै मनोवैज्ञानिक त्रास पनि उत्तिकै बढेको छ । पछिल्लो एक महिनाको अवधिमा मात्रै ४ जना नेपालीहरुको मनोवैज्ञानिक त्रासको कारणले नै मृत्युवरण गर्नु परेको छ । जसमध्ये २ जनाले आत्माहत्या गरेको र २ जनाको हृदयघात भई मृत्यु भएको छ । कोरोना नेगेटिभ रहेका उनीहरुमा डर र डिप्रेसन अत्याधिक भएको मृतकका साथीहरुको भनाइ रहेको छ ।

यी सबै तथ्याङ्कहरुको अधिकारिकता नेपाली दुतावाससँग छैन । अर्थात् उसँग औपचारिक जानकारी दिनसक्ने सूचना छैन । युएईको नेपाली दुतावाको मात्र हैन खाडीका सबै दुतावासको यही हालत छ । खाडी राष्ट्रमा रहेका केहीबाहेक कुनै पनि नेपाली दुतावासले आफ्ना नागरिकका बारेमा जानकारी लिन सकेका छैनन् । र, आफूसँग रहेको जानकारी कुनै पनि मिडियालाई दिएर आम नेपालीहरुलाई सुसूचित गर्न सकेका छैनन् । युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले आफूहरुले यहाँको निकायसँग जानकारीको लागि पत्रचार गरेकोले छिट्टै नै अधिकारिक जानकारी आउने विश्वास दिलाएका छन् ।

यो पंक्तिकारसँग सम्पर्कमा आएका नेपाली दुतावासका एक अधिकारीले भने आफूहरुले धेरै नेपालीहरुले समयमा उपचार नपाएको गुनासो सुनेको बताए । उनका अनुसार दुतावासका कर्मचारीहरुको फोन नम्बर सार्वजनिक गरेपछि रुँदै फोन गर्ने नेपालीहरु धेरै छन् । सबैको एउटै गुनासो छ, समयमा उपचार नपाएको । कतिले खानको लागि पैसा सकिएकोले खाना नपाएको । समयमै उपचार नपाएको भन्नेहरु मध्ये पोजिटिभ देखिएका कारण मनोवैज्ञानिक त्रास बोकेका नेपालीहरु धेरै भएको उनको भनाइ छ ।

पोजिटिभ देखिएर केही गम्भीर लक्षण भएका नेपालीहरुलाई यहाँका निकायहरुसँग समन्वय गरेर उपचार गराइरहेको राजदूत ढकालले बताए । 'नेपाल सरकार नेपालीहरुको स्वास्थ्यबारे गम्भीर छ,' राजदूत ढकालले भने, 'हामीले हाम्रो क्षमताले भ्याएसम्म नेपालीहरुको उपचारमा सहयोग र समन्वय गरिरहेका छौं ।' तर, दुतावासको यो भनाइलाई यहाँका नेपालीहरु मान्न तयार छैनन् ।

कोभिड १९ का कारण गत अप्रिल ६ देखि २४ तारिखसम्म दुबई सहरमा यातायत र आवाजावत ठप्प गरियो । २५ तारिखदेखि भने बिहान ६ बजेदेखि बेलुकी १० बजे सम्म लकडाउनलाई खुकुलो गरिएको छ । केही मलहरुसहित मानिसहरुको आवातजावतलाई अनुमति दिइएको छ । २८ तारिखदेखि विश्वकै ठूलो मल दुबई मल खुल्ला गरिएको छ । यसरी कडाइलाई क्रमश: खुकुलो बनाउँदै लैजाने नीति यहाँको सरकारले लिएको देखिन्छ । तथापि संक्रमितहरु बढ्ने क्रम भने रोकिएको छैन । बरु झन् झन् बढ्नेक्रममा रहेको देखिन्छ । गत शुक्रबार मात्र ५ सय ५७ जना नयाँ संक्रमित् भेटिएका थिए जुन अघिल्लो दिन बिहीबारको भन्दा ५ जनाले बढी हो । तर, यस् लकडाउनको अवधिमा युएईले यहाँका अधिकांश सडकहरुमा किटनाषक छरेको छ । युएईको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार युएईमा हालसम्म १३ लाखभन्दा बढी नागरिकहरुमा कोरोना भाइरसको परिक्षण गरिएको छ ।

महामारीमा कति नेपाली प्रभावित भए भनेर अहिले नै ठ्याक्कै भनिहाल्ने अवस्था छैन । दुबईमा एक महिनाभन्दा अघि सुरु भएको भएको आंशिक प्रतिबन्ध र २० दिनसम्म लागेको पूर्णलकडाउनले श्रम गर्ने धेरै नेपाली प्रभावित भएका छन् । धेरैले रोजगारी गुमाएका छन् । एउटै कम्पनीमा कार्यरत २४ सयभन्दा बढी नेपालीहरुलाई कम्पनीले निस्कासन गरेको सो कम्पनीमा कार्यरत नेपालीहरु बताउँछन् । धेरै नेपालीहरु बेतलबी बिदामा रहेका छन् भने केहीको तलब कटौती भएको छ ।

भिजिट भिसामा युएई घुम्न आएका धेरै नेपालीहरु अलपत्र परेका छन् । यहाँ कार्यरत केही गर्भवति महिलाहरु नेपाल फर्कन नपाएका खबरहरु प्राप्त भएका छन् । हवाई यातायात अवरुद्ध हुनु अघि नै भिसा रद्ध भएका सयौं नेपालीहरु नेपाल जान नपाएर अलपत्र परेका छन् । यद्यपि युएई सरकारले उनीहरुको भिसाको अवधि भने यो बर्षको अन्तिमसम्म कायम रहने बताइसकेको छ । जसले गर्दा उनीहरु गैरकानूनी हुनबाट जोगिएका छन् ।

गैर आवासीय नेपाली संघ (एनआरएनए), युएईले मंगलबारसम्ममा अलपत्र परेका २ हजार नेपालीलाई झण्डै १५ लाख रुपैयाँ बराबरको राहत खाद्दन्न सामाग्री वितरण गरेको बताएको छ । यस्तै नेपाली समाज युएईले पनि नेपालीलाई राहत विरतण गरेको बताएका छन् ।

बिदेशमा रहेका नेपालीका संस्थाहरुले सहयोग उद्दार गरिरहँदा नेपाल सरकारका नियोग नेपाली दुतावास भने निकै लामो समयसम्म मौन बस्यो । नेपाल सरकारले नेपाली दुतावासमार्फत् यहाँका संस्थाहरुलाई परिचालन गर्ने तदारुकतासमेत देखाएको छैन । विभिन्न संघसंस्थाको दबाबपछि मंगलबारदेखि भने अलपत्र परेका नेपालीहरुको अभिलेखीकरण सुरु गरेको छ ।

दुबई सरकारले लकडाउन खुकुलो पारेसँगै यहाँको आर्थिक गतिविधि चलायमान हुने र बिस्तारै सामान्य अवस्थामा फर्कने अनुमान गरिएको छ । साना तथा माझौला कम्पनीहरुले आफ्ना काम सुचारु गर्नेछन् । पर्यटन क्षेत्र, होटल र मलहरुमा कार्यरत हजारौं नेपालीहरुको जागिर सुरक्षित हुने अपेक्षा गरिएको छ । स्वास्थ्य सुरक्षामा कडाइ गर्दै आर्थिक गतिविधिलाई नियमित गर्ने नीति दुबई सरकारले लिएको देखिन्छ । एकातिर संक्रमण बढ्दै जाने अर्कोतिर कडाइलाई खुकुलो बनाउँदै लैजाँदा यहाँ कार्यरत नेपालीहरुले थप सतर्कता अपनाउन जरुरी देखिन्छ ।

राजदूत ढकालले अहिलेको अवस्था लामो समयसम्म नजाने भएकोले सबै नेपालीहरुलाई धैर्य गर्न आव्हान गरेका छन् । युएई सरकारले रोकथामको लागि सबै जोडबलका साथ काम गरिरहेकोले अनुमान गरेजस्तो धेरै नेपालीहरुले रोजगारी नगुमाउने उनको भनाइ छ । तत्काललाई केही नेपालीहरुले रोजगारी गुमाए पनि दीर्घकालीन रुपमा यसको असर नरहने ढकालको तर्क रहेको छ ।

प्रकाशित : वैशाख २०, २०७७ २१:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?