कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

नक्कली भिसा बनाएर अढाई करोड ठगी

माल्टा र कुवेत पठाउने भन्दै ६० जनाबाट २ करोड ५० लाख ठग्ने स्पा सञ्‍चालक प्रहरी फन्दामा
मातृका दाहाल

काठमाडौँ — राजधानीको त्रिचन्द्र क्याम्पसबाट स्नातकसम्मको अध्ययन सकेका तुर्माखाँद गाउँपालिका–५, अछामका २३ वर्षीय कमलप्रसाद जोशी जागिरको खोजीमा भौंतारिइरहेका थिए । भनेजस्तो जागिर नपाएपछि विदेश जाने योजनामा पुगेका उनले २०७६ असारमा एक जना साथीमार्फत सुन्धारास्थित सीटीसी मलको सातौं तलामा स्पा सञ्चालन गर्ने बाबुराम श्रेष्ठलाई भेटे ।

नक्कली भिसा बनाएर अढाई करोड ठगी

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७, भगवतीका ३८ वर्षीय श्रेष्ठले उनलाई युरोपेली देश माल्टामा निकै राम्रो कमाइ हुने आस देखाए । मासिक १ हजार २ सय युरो पारिश्रमिक पाउने गरी एक कम्पनीबाट कामदारको माग भएको बताएपछि कमल आश्वस्त भए । राम्रै कमाइले लोभिएका उनले त्यसबापत श्रेष्ठलाई १० लाख तिर्न राजी भए । छिट्टै अन्तर्वार्ता हुन्छ भनेपछि उनले राहदानी र अग्रिम भुक्तानीबापत ऋण खोजेर ९ लाख बुझाए । पैसा बुझाउँदा मंसिर लागिसकेको थियो । पैसा बुझाएपछि दिल्लीमा माल्टाको कम्पनीसँग एग्रिमेन्ट पेपरमा हस्ताक्षर गर्न बोलाइयो । कमल दिल्ली हानिए । उनीसँगै अन्य ५ जना पनि माल्टाका लागि सम्झौता गर्न दिल्ली पुगे ।


बिस्कुट कम्पनीमा मासिक १ हजार २ सय युरो पाउने गरी काम गर्ने सर्तमा पेपर साइन गरेर उनी फर्किए । श्रेष्ठले आगामी साता (मार्च १४) मा काठमाडौंबाट माल्टा उड्ने हवाई टिकटको व्यवस्था भइसकेको बताउँदै भिसा आएको पेपर फोटोकपी गरेर दिए । तर पैसा लिनुअघि दिनहुँजसो कुराकानी गर्ने श्रेष्ठ त्यसपछि टाढिँदै गए । विदेश जाने समय नजिकिँदै गर्दा एजेन्ट नै हराएपछि कमल सशंकित भए । त्यसलगत्तै उनले चिनजानका एक व्यक्तिमार्फत गत माघमा परराष्ट्र सचिव शंकरदास बैरागीलाई भेटेर आफूलाई दिइएको भिसा पेपर देखाए । उनलाई दिइएको भिसा राहदानीको छैटौं र सातौं पाना स्क्यान गरेर बनाइएको खुलेपछि कमल छाँगाबाट खसेजस्तो भए । मंसिरबाट सुरु भएको माल्टा जाने तयारीमा ठेस लाग्यो । त्यसपछि उनी श्रेष्ठको खोजीमा लागे ।


कमलसहित माल्टा जान श्रेष्ठले २६ जनासँग जनही ६ लाखदेखि ९ लाख रुपैयाँ लिएको पत्ता लाग्यो । माल्टा मात्रै होइन, श्रेष्ठले कुवेत पठाउने भन्दै ३४ जनाबाट जनही ३ लाखका दरले पैसा लिएका रहेछन् । उनले कुवेत जानेलाई दिल्लीबाट मार्च ६ मा र माल्टाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २६ जनालाई मार्च ८ देखि मार्च १४ सम्ममा उडाउने तयारी गरेका रहेछन् । तर परराष्ट्र सचिव बैरागीलाई भेटेपछि मात्र श्रेष्ठले युवाहरूलाई ठगेर भागेको रहस्य खुल्यो । मार्च १४ मा माल्टा उड्न टिकट काटेका ६ जनाले पनि आफूहरू ठगिएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका थिए । सबै कागजात हेरेपछि महानगरीय प्रहरी परिसरको टोली फरार श्रेष्ठको खोजीमा जुट्यो । उनले युवाहरूलाई आफ्नो पुर्ख्यौली घर अर्घाखाँची भएको तथा हाल धापासी र बूढानीलकण्ठमा पनि घर रहेको बताएका थिए । त्यसैका आधारमा प्रहरीले खोजी गरे पनि श्रेष्ठको मोबाइल लोकेसन हेर्दा उनी नेपालगन्जमा रहेको देखियो । प्रहरीले श्रेष्ठलाई शुक्रबार नेपालगन्जमा पक्राउ गरी काठमाडौं ल्याएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा श्रेष्ठले कुवेत र माल्टा पठाउने भन्दै ६० जनाबाट २ करोड ५० लाखभन्दा बढी रकम ठगेको पत्ता लाग्यो ।


परिसरका डीएसपी होबिन्द्र बोगटीका अनुसार श्रेष्ठले अछाम, काभ्रे, कैलाली, सिन्धुली, बैतडीलगायत जिल्लाका युवाहरूलाई वैदेशिक रोजगारीमा आकर्षक तलबसहित पठाउने लोभ देखाएर ठगी गरेको खुलेको छ । ‘नआत्तिनुस्, छिट्टै तपाईंहरू विदेश जान पाउनुहुन्छ भन्दै अलमल्याएर श्रेष्ठ भागेका रहेछन्,’ डीएसपी बोगटीले भने, ‘त्यसपछि सम्पर्कविहीन भएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए ।’ अदालतबाट श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरेर प्रहरी उनको खोजीमा जुटेको थियो । प्रहरीले सीटीसी मलस्थित स्पाबाट ५६ थान राहदानीसहित विदेश जानेका लागि बनाएका विभिन्न नक्कली कागजात पनि बरामद गरेको छ । श्रेष्ठबाट अरू पनि ठगिएका हुन सक्ने आशंका रहेको भन्दै प्रहरीमा उजुरीका लागि पनि आह्वान गरेको छ । डीएसपी बोगटीले पढेलेखेका युवाहरू नै यसरी ठगी गर्ने गिरोहको फन्दामा पर्नुको मुख्य कारण बेरोजगारी र प्रलोभन नै मुख्य कारण रहेको बताए । ‘एउटा व्यक्तिले आकर्षक तलबसहित विदेश पठाउने लोभमा लाखौं रकम असुल्छ भने त्यसबारे सरकारी निकायहरूसँग पनि बुझ्न सकिन्थ्यो तर त्यसो नगरी गलत बाटोबाट जसरी पनि विदेश जाने हुटहुटी युवाहरूमा देखियो,’ बोगटीले भने, ‘जसका कारण गाउँघरका गरिब र विपन्न परिवारका युवाहरू ऋण काढेर ठगलाई पैसा बुझाउन बाध्य छन्, यसबारे सबै सचेत हुन आवश्यक छ ।’


अस्ट्रेलिया पठाउने भन्दै ५२ लाख ठगी

वर्किङ भिसामा अस्ट्रेलिया पठाउने भन्दै ४ जनाबाट जनही १३ लाख रुपैयाँ लिएर फरार भएका ललित तामाङ पनि पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ३२ वर्षीय तामाङलाई पक्राउ गरेको हो । तामाङले वर्किङ भिसामा जनही ४० लाख लिएर अस्ट्रेलिया पठाउने भन्दै पेस्कीबापत जनही १३/१३ लाख असुलेका थिए । उनी बैंकिङ कसुरमा समेत आरोपित व्यक्ति हुन् । प्रहरीका अनुसार तामाङविरुद्ध उच्च अदालत पाटनमा मुद्दा विचाराधीन छ ।


सर्लाहीका राधेले ठगे ३२ जना

वैदेशिक रोजगारीका क्रममा दुबई पठाउने भन्दै ३२ जनालाई ठगी गरेका धनुषाका राधे साहलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । सप्तरी र धनुषाका चौधरी र यादव थरका ३२ जना युवालाई भिजिट भिसामा दुबई पठाउने भन्दै साहले जनही १ लाख ८० हजारका दरले रकम असुलेका थिए । तर भनेको समयमा विदेश पठाउन नसकेपछि पीडित युवाले प्रहरीमा उजुरी दिएका थिए ।

प्रकाशित : फाल्गुन २६, २०७६ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?