१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ३१ आइतबार
  • Saturday, 08 June, 2024
२o७८ श्रावण ३१ आइतबार १o:oo:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

काबुलमा भेटिए १५ सय नेपाली,  धेरैजसो फर्किन चाहन्छन् 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७८ श्रावण ३१ आइतबार १o:oo:oo

दिल्लीस्थित नेपाली दूतावासले संकलन गरेको तथ्यांक परराष्ट्र मन्त्रालयलाई पठाएको छ

अफगानिस्तानको काबुलमा एक हजार पाँच सय नेपाली कार्यरत रहेको तथ्यांक परराष्ट्र मन्त्रालयले प्राप्त गरेको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासले विभिन्न सम्पर्क सूत्रमार्फत काबुलमा रहेका नेपालीको विवरण मन्त्रालयमा पठाएको हो । 

१५ सय नेपालीको तथ्यांक पाइसक्यौँ, सबै सुरक्षित छन् : रामप्रसाद सुवेदी, दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख

अफगानिस्तानमा रहेका करिब १५ सय नेपालीको तथ्यांक हामीले प्राप्त गरिसकेका छौँ । यसको रिपोर्टिङ परराष्ट्र मन्त्रालयलाई पनि गरेका छौँ । अरू नेपाली पनि छन् कि भन्ने विषयमा सोधखोज पनि जारी छ । राजधानी काबुलमा रहेका अधिकांश नेपाली संयुक्त राष्ट्रसंघ, विभिन्न देशका दूतावासलगायतमा सुरक्षागार्ड रहेको थाहा भएको छ । उनीहरू सुरक्षित छन् ।

तालिवान समूहले अफगानिस्तानका उत्तर, पश्चिम र दक्षिणका आधाभन्दा बढी प्रान्तमा कब्जा जमाइसकेपछि उत्पन्न त्रासदीबीच नेपाल सरकारले काबुलमा कार्यरत नेपालीको सोधखोज तीव्र पारेको छ । संयुक्त राष्ट्रसंघीय नियोग र विभिन्न मुलुकका दूतावासको सुरक्षाको भित्री घेरामा नेपाली खटिएका छन् । दिल्लीस्थित नेपाली दूतावासका अनुसार संयुक्त राष्ट्रसंघ तथा त्यसअन्तर्गतका कार्यालय, युरोपियन युनियनको कार्यालय, बेलायत, जर्मनी, क्यानडा, जापान, नर्वे, अस्ट्रेलियन दूतावासमा नेपाली पूर्व सुरक्षाकर्मी खटिएका छन् ।

काबुलस्थित अमेरिकी राजदूतावासमा मात्रै पाँच सय ६० जना नेपाली कार्यरत छन् । त्यसमध्ये तीन सय ८० त्यही कार्यरत रहेका र बाँकी एक सय ८० बिदामा काबुलबाहिर छन् । त्यस्तै, संयुक्त राष्ट्रसंघीय निकाय र युरोपियन युनियनको कार्यालयमा मात्रै कम्तीमा चार सय ७० नेपाली छन् । बेलायत, क्यानडा, जापान, जर्मनी, अस्ट्रेलियाका दूतावासमा कम्तीमा ६०–६० जना नेपाली खटिएका छन् । अस्ट्रेलियाको दूतावासमा कार्यरत नेपाली भने स्वदेश फर्किसकेका छन् ।

दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले नयाँ पत्रिकासँग टेलिफोनमा भने, ‘अफगानिस्तानमा रहेका करिब १५ सय नेपालीको तथ्यांक हामीले प्राप्त गरिसकेका छौँ । यसको रिपोर्टिङ परराष्ट्र मन्त्रालयलाई पनि गरेका छौँ । अरू नेपाली पनि छन् कि भन्ने विषयमा सोधखोज पनि जारी छ । राजधानी काबुलमा रहेका अधिकांश नेपाली संयुक्त राष्ट्रसंघ, विभिन्न देशका दूतावासलगायतमा सुरक्षागार्ड रहेको थाहा भएको छ । उनीहरू सुरक्षित छन् ।’

अमेरिकी दूतावासको भित्री सुरक्षा घेरामा नेपाली हतियारसहित छन् । यद्यपि अमेरिकी नियोग तालिवानको निसानामा रहेकाले नेपाली जोखिममा छन् । काबुलस्थित विदेशी दूतावासहरूमा बाहिरी दुई तहको सुरक्षा घेरामा अफगानी सुरक्षाकर्मी छन् । तेस्रो सुरक्षा घेरामा नेपाली छन् भने चौथो आन्तरिक सुरक्षामा प्रायः सम्बन्धित मुलुककै सुरक्षाकर्मी छन् । 

नेपाली दूतावासले दिल्लीस्थित अफगानिस्तानको दूतावासमार्फत त्यहाँ रहेका नेपालीको सुरक्षाबारे चासो राख्दै आएको छ । त्यहाँ कार्यरत नेपालीलाई अमेरिका, बेलायतलगायत मुलुक र संयुक्त राष्ट्रसंघअन्तर्गतका निकायले अरू मुलुकमा काममा लगाउने आश्वासन दिएकाले उनीहरूलाई तत्काल स्वदेश फर्काउन हतार नगर्ने एक सरकारी अधिकारीले नयाँ पत्रिकालाई बताए । 

‘संकटपूर्ण समयमा सघाएका नेपालीलाई हामी सम्बन्धित देशमा फिर्ता लैजान्छौँ र अन्य मिसनहरूमा काममा लगाउँछौँ भन्ने जानकारी दिएका छन्, अहिले नै उनीहरूलाई स्वदेश फर्काउन हामीले तदारुकता देखाउनुपर्ने अवस्था आइसकेको छैन,’ उनले नयाँ पत्रिकासँग भने । यद्यपि, यो संख्या त्यहाँ कार्यरत नेपाली सुरक्षागार्डको करिब ३० प्रतिशत मात्रै रहेको दिल्लीस्थित नेपाली दूतावास स्रोतको दाबी छ ।

‘करिब ७० प्रतिशत नेपाली सुरक्षाकर्मी स्वदेश फर्किने मनस्थितिमा पाएका छौँ, तर उनीहरू कार्यरत मुलुकले अन्त लैजान्छन् भने पनि काम गर्न तयार अवस्थामा छन्,’ नेपाली दूतावासका एक अधिकारीले भने ।

अफगानिस्तानमा सञ्चालित भारतीय विकास परियोजनामा पनि नेपाली नागरिक कार्यरत छन् । त्यहाँ विशेषतः ओलिभ कम्पनी, गार्दा कम्पनी, आइपिजी कम्पनी, आर्ट सेक्युरिटीमार्फत नेपाली कामका सिलसिलामा पुगेका छन् । 

परराष्ट्रसचिव भरतराज पौड्यालले शुक्रबार दूतावास अधिकारीहरूलाई नेपालीको अवस्थाबारे जानकारी लिन, नेपालीलाई सतर्क अवस्थामा रहन आग्रह गर्न र उनीहरूसँग निरन्तर सम्पर्कमा बस्न निर्देशन दिएका छन् ।

अफगानिस्तानको बदलिँदो परिस्थितिमा अहिले दिल्ली दूतावासका अधिकारी पूर्ण रूपमा अफगानिस्तान केन्द्रित छन् । ‘नेपालीको सुरक्षाका विषयमा हामी सतर्क अवस्थामा छौँ, दूतावासको सम्पूर्ण टिम अफगानिस्तानमा केन्द्रित छ,’ उपनियोग प्रमुख सुवेदीले भने । परिस्थिति बिग्रिँदै गएमा नेपालीलाई स्वदेश फर्काउने विकल्पमा तयारी गर्न पनि परराष्ट्र मन्त्रालयले आवश्यक गृहकार्य थालेको बताएको छ । 

ad
ad
ad
ad
ad
ad