logo
२०८१ जेष्ठ २ बुधवार



मलेसियाबाट विद्युतीय राहदानी सुरू

अर्थ |


मलेसियाबाट विद्युतीय राहदानी सुरू


गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २८ गते । मलेसियामा रहेको नेपाली दूतावासबाट विद्युतीय राहदानी प्रदान गर्न थालिएको छ । सो नेपाली दूतावासले बुधबारदेखि त्यहाँ कार्यरत नेपाललाई विद्युतीय राहदानी प्रदान गर्न थालेको हो ।
राहदानी विभागका अनुसार मलेसियामा रहेको दूतावासले बुधबार राहदानी नवीकरण गर्न दूतावास आइपुग्नुभएका श्यामकुमार चौधरीको राहदानी नवीकरणको लाइभ इनरोलमेन्ट गरी विद्युतीय राहदानी जारी सुरुवात गरेको जनाइएको हो ।

दूतावासबाट लाइभ इनरोलमेन्ट गरिएको राहदानी विभागबाट प्रिन्टसमेत गरेर सफलताका साथ परीक्षण गरिएको छ । दूतावासले पहिलो दिनमा नै ३३ जनाको राहदानी नवीकरणका लागि लाइभ इनरोलमेन्ट गरेको जनाएको छ । दूतावासका अनुसार सुरुको एक हप्ता सीमित व्यक्तिलाई मात्र अनलाइन बुकिङको आधारमा सेवा दिने र त्यसपछि नियमित रूपमा विद्युतीय राहदानी जारी गर्नेछ ।

विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट कार्यक्रममा भर्चुअल माध्यमबाट राहदानी विभागका महानिर्देशक डोरनाथ अर्याल पनि सहभागी हुनुभएको थियो । दूतावासका अनुसार मलेसियामा साढे दुई लाख श्रमिक हाल कार्यरत रहेका छन् । यसअघि आइतबार कतारमा रहेको नेपाली दूतावासले विद्युतीय राहदानी प्रदान गरेको थियो ।

त्यस्तै खाडी र मलेसियाबाहेक अन्य देशमा रहेका सबै नेपाली दूतावासमा उपकरण पठाउने काम भइरहेको र केही साताभित्र सेवा सञ्चालन गर्ने राहदानी विभागको तयारी छ । नेपालमा अहिले ३६ वटा जिल्ला प्रशासन कार्यालय र पाँचवटा इलाका प्रशासन कार्यालयबाट गरी जम्मा ४१ ठाउँबाट विद्युतीय राहदानीका लागि लाइभ इनरोलमेन्ट सुरु भइसकेको छ । अन्य जिल्लामा तीनवटा प्राविधिक टोलीले नेटवर्किङ गर्ने, उपकरण जडान गर्ने र तालिम प्रदान गर्ने कार्य भइरहेको पनि विभागले जानकारी दिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?