२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मजदुर परिवारलाई दोस्रो चरणको ‘दैनिक उपभोग्य सामग्री’ वितरण सुरु

रसुवा- रसुवाको कालिका गाउँपालिकाले मजदुरी गरेर जीवनयापन गर्ने परिवारलाई दोस्रो चरणको दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सुरु गरेको छ । पहिलो चरणमा वितरण गरिएको सामग्री सकिएकाले दोस्रो चरणमा केही थप परिवारसहितलाई कुपन दिन थालिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सूचीकृत भएका परिवारलाई आइतबारदेखि सामग्री उपलब्ध गराउन सुरु गरेको हो ।

गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले दोस्रो चरणमा केही परिवार थपिएको बताए । ‘हामीले सुरुमा विवरण संकलन गर्दा तत्कालै सामग्री उपलब्ध गराउन पर्ने मात्रै छनौट गरेका थियौं,’ उनले भने, ‘लकडाउन थपिएपछि थप केही घरमा पनि चुल्हो बल्न छाडेको देखियो ।’ लकडाउन अवधिभर गाउँपालिकामा स्थायी रूपमा बसोबास गरिरहेका र मजदुरीका लागि बाहिरबाट आएर बसिरहेका परिवारलाई भोको हुन नदिने उनको भनाइ छ । दोस्रो चरणमा दुई हप्ताको लागि पुग्ने सामग्री वितरण गरिएको छ ।

आइतबार गाउँपालिकाको वडा नम्बर १ का ५८ परिवारलाई कुपन उपलब्ध गराइएको छ । पहिलो चरणमा यहाँ १६ परिवारलाई मात्र कुपन दिइएको थियो । अन्य वडामा पनि परिवार संख्या थप हुने देखिएको छ । लकडाउन अवधिभर लक्षित परिवारलाई अत्यावश्यक दैनिक उपभोग्य वस्तु उपलब्ध गराउनका लागि कुपनको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । लकडाउन लम्बिएको खण्डमा तोकिएको परिवारलाई पुनः कुपनको व्यवस्था गरिने छ ।  

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन अवधिमा लक्षित परिवारलाई अत्यावश्यक दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन बनेको कार्यविधि–२०७६’ निर्माण गरेको थियो । गाउँपालिकाभित्र हाल बसोबास गरिरहेका भूमीहीन, सुकुम्बासी, आफ्नो खेती नभएका, परिवारको कुनै सदस्यको नियमित आयआर्जन नभएको, परिवारको कुनै सदस्य स्वदेश वा विदेशमा रोजगारीमा नरहेको वा नभएको, परिवारको कुनै सदस्यको व्यापार व्यवसाय नभएको र दैनिक ज्यालादारीमा परिवारको दैनिक गुजरा चलाइरहेको परिवारलाई सामग्री उपलब्ध गराइएको हो ।

लकडाउन अवधिभर गाउँपालिकाभित्र बसोबास रही अत्यावश्यक दैनिक उपभोग्य वस्तुबाट वञ्चित भएका लक्षित परिवारलाई न्यूनतम् दैनिक उपभोग्य वस्तुहरू लकडाउन अवधिभर उपलब्ध गराइने उनले बताए ।

प्रकाशित: ७ वैशाख २०७७ ०९:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App