coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

पर्यटकको उद्धार, मजदुर बिचल्लीमा

पोखरा विमानस्थलका शुक्रबार दिउँसो जहाज चढ्दै विदेशी पर्यटक। तस्बिर सौजन्यः देवराज सुवेदी

पोखरा- विभिन्न क्षेत्रको पदयात्रा गएर पोखरा झरेका विदेशी पर्यटकको हवाईजहाजबाट उद्धार गरिएपनि पर्यटकसँगै पदयात्रामा गएका मजदुरको भने उद्धारमा समस्या भएको छ। विभिन्न पदमार्गबाट जसोतसो पोखरा झरेका मजदुरको उद्धार नहुँदा विचल्ली भएको पदयात्रा व्यावसायीले बताएका छन्।

ट्रेकिङ एजेन्सीज एशोसिएस अफ नेपाल (टान) का पश्चिमाञ्चल अध्यक्ष हरि भूजेलका अनुसार विभिन्न पदमार्गमा रोकिएका विदेशी पाहुना जसोतसो पोखरा झरेका छन्। ती पर्यटकसँगै रहेका मजदुर पनि पोखरा झरेपनि त्यसपछि घरसम्म पुग्न सकेका छैनन्। पर्यटकसँगै ती मजदुरहरु पनि पदयात्रामा गएका थिए। गाइड र पोर्टरको रुपमा मजदुरहरु पर्यटकसँगै पदयात्रामा जाने गर्छन।

‘विभिन्न मुलुकले आफ्ना नागरिकको उद्धारका लागि गाडि र हवाईजहाजको व्यवस्था गरेका छन। तर, नेपाली मजदुर भने पोखरामै रोकिएका छन,’ टान अध्यक्ष भूजेलले भने, ‘ती मजदुरको पनि पर्यटकसँगै उद्धार हुनुपर्छ। पर्यटकसँग गएका मजदुर उद्धार नपाउँदा अलपत्र पर्ने अवस्था आएको छ।’ विहीबार र शुक्रबार ५८ जनाको दरले विदेशी पाहुनाको पोखराबाट हवाईजहाजबाट उद्धार भएपनि उनीहरुसँगै गएका नेपाली मजदुर भने पोखरा रोकिएको उनले बताए।

टान अध्यक्ष भूजेलका अनुसार केही पर्यटक मुस्ताङमा छन्। त्यस्तै अन्नपूर्ण क्षेत्रभित्रकै घान्द्रुक लगायतका क्षेत्रमा पनि विदेशी पाहुना र गाइड रहेका छन्। रोकिएका ती विदेशीलाई धमाधम उद्धार गरेर सम्बन्धित मुलुकले स्वदेश फर्काएका छन्। मजदुरहरु पनि जसोतसो पोखरासम्म झरेपनि त्यसपछि भने घरसम्म पुग्न नपाएको उनले बताए। मुस्ताङमा रोकिएका गाइड भने पर्यटकसँगै बस चढेर राजधानी पुग्न पाएका थिए। तर, पोखरा झरेका पर्यटकका सहयोगी गाइड भने जान नपाएको उनले बताए।

काठमाडौंदेखि नै पाहुनासँगै हिडेका नेपाली मजदुर भने रोकिएको उनले बताए। ‘मजदुरहरुले आफ्नो घरसम्म पनि फर्किन नसकेको भनेर गुनासो गरिरहेका छन,’ उनले भने, ‘स्थलमार्गबाट उद्धार गर्न नदिएका कारण पनि मजदुर समस्यामा परेका हुन्। यदी स्थलमार्गबाट पठाउन प्रशासनले अनुमति दिने हो भने हामीले पनि सहजीकरण गर्ने थियौं।’ कास्की प्रशासनले माथिल्लो निकायबाट स्थलमार्ग प्रयोग गर्न नदिएको भनेर रोकेको उनले जानकारी दिए।

टान अध्यक्ष भूजेलका अनुसार पोखरामा अहिले करिब ६० जना नेपाली मजदुर रोकिएका छन्। जसोतसो पोखरासम्म आउन पाएका ती मजदुर यहाँबाट अन्त जान पाएका छैनन्। सम्बन्धित मुलुकका दूतावासको पहलमा मात्र विदेशी नागरिक हवाईजहाज हुँदै राजधानी फर्केका छन्। तर मजदुरहरु भने घर फर्किन पाएका छैनन्। ‘मजदुरी गरेर कमाएको पैसा पनि यही खर्च गर्ने अवस्था आएको छ। मजदुरले आफुहरुको उद्धारमा पहल गर्न अनुरोध गरिरहेका छन। तर, हामीले प्रयास गर्दा पनि सकेका छैनौ,’ उनले भने।

पोखरास्थित पर्यटक प्रहरीका निरिक्षक गणेश खनालले पनि विदेशी पाहुनको उद्धार भएपनि उनीहरुका नेपाली कामदार भने पोखरा नै रोकिएको बताए। ‘हामीले पनि स्थानीयस्तरबाटै केही सहजीकरण गर्ने मात्र हो। हामीले मात्र चाहेर पर्यटक वा मजदुर पठाउन सक्दैनौ। दूतावासमार्फत जसलाई उद्धार गर्न भनिएको छ, उनीहरुलाई मात्र हामीले सघाउने हो,’ खनालले भने, ‘मजदुरहरु अप्ठेरोमा परेको जानकारी छ। तर, हामीले मात्र गर्न सक्ने अवस्था रहेन।’ मुलूकमा आउजाउ बन्द हुँदा ती पर्यटक विभिन्न पदयात्रामा थिए। रोकिएलगत्तै पदयात्रा पुरा गरेर पर्यटकहरु यतिबेला पोखरा आएको खनालले बताए।

यसैबीच शुक्रबार पनि पोखराबाट ५८ जना विदेशी पर्यटकको हवाइजहाजबाट उद्धार भएको छ। पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार यति एयरलाइएन्सको एटिआर–७२ जहाजबाट ती पर्यटकको उद्धार गरिएको हो। विभिन्न गन्तव्यबाट ती पर्यटक पोखरा झरेका थिए। पर्यटकको आफ्नो मुलुकको दुतावासबाट ती पर्यटकको उद्धार गर्न पहल भएपछि उनीहरु पोखराबाट काठमाडौं उड्न पाएको उनले बताए।

विहीबार पनि हिमालपारिको जिल्ला मुस्ताङमा रोकिएका १ सय ४५ जना पर्यटकलाई उद्धार गरिएको थियो। त्यस्तै पोखरा झरिसकेका ५८ जना विदेशी पर्यटकको पनि विहीबार हवाईजहाजबाट उद्धार गरिएको थियो।

 

 

प्रकाशित: १४ चैत्र २०७६ १३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App