logo
२०८१ बैशाख १६ आईतवार



कारबाहीपछि बढ्यो कोषमा आबद्धता

अर्थ |


कारबाहीपछि बढ्यो कोषमा आबद्धता


सीता शर्मा

काठमाडौँ, असार ३ गते । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा बैङ्क तथा वित्तीय संस्था आबद्ध हुने क्रम बढेको छ । कोषमा सूचीकृत नहुने रोजगारदाता तथा वित्तीय संस्था आर्थिक कारबाहीमा पर्न थालेपछि कोषमा सूचीकृत हुने क्रम बढेको हो ।
अर्कोतर्फ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा कोषमा सूचीकृत भएर वैशाखसम्मको रोजगारदाता र कर्मचारीले जम्मा गर्नुपर्ने रकम जम्मा गरिसकेकाको जेठ र असार महिनाको योगदान रकम सरकारले बेहोर्ने घोषणा गरेको थियो । कोषमा रोजगारदाता प्रतिष्ठानले तिर्नुपर्ने २० प्रतिशत र योगदानकर्ताको तलबबाट काटिने ११ गरी ३१ प्रतिशत रकम सरकारले बेहोर्ने भएको छ । बजेटमार्फत गरिएको आकर्षक व्यवस्थाका कारण पनि नयाँ सूचीकृत हुने क्रम बढेको कोषका सहप्रवक्ता रोहित रेग्मीले बताउनुभयो ।
कोषका अनुसार पछिल्लो पटक वाणिज्य बैङ्कतर्फ स्टान्डर्ड चार्टर्ड बैङ्कका ५०२, लक्ष्मी बैङ्क कोषमा सूचीकृत भई योगदानबापतको रकमसमेत जम्मा गर्न थालिसकेका छन्
यसैगरी विकास बैङ्कतर्फ ग्रिन विकास बैङ्क, कर्णाली विकास बैङ्क र देव विकास बैङ्क पनि कोषमा सूचीकृत भई कोषमा वैशाखको पैसा जम्मा गरिसकेका छन् । यस्तै फाइनान्सतर्फ ११ वटा कोषमा सूचीकृत भएकामा पाँचवटा क्रमशः गुडविल फाइनान्स, नेपाल फाइनाइन्स, आईसीएफसी फाइनान्स, पोखरा फाइनान्स, गोरखा फाइनान्सले पैसा जम्मा गर्न थालिसकेको कोषले जनाएको छ ।
त्यसैगरी इन्स्योरेन्स कम्पनीतर्फ ३५ वटा कोषमा सूचीकृत भइसकेकामा प्राइम लाइफ, सिटिजन, रिल्याइन्स, शिखर, सूर्य, सगरमाथा, सन नेपाल र प्रिमियमलगायतका आठवटा इन्स्योरेन्स कम्पनीले वैशाख महिनाको योगदानकर्ताको पैसा कोषमा जम्मा गरिसकेका छन् । यस्तै लघुवित्ततर्फ ३९ वटा कोषमा सूचीकृत भइसकेकामा जनउत्थान, लक्ष्मी, राष्ट्र उत्थान, वोमी, सपोर्टलगायत ११ वटाले वैशाखको पैसा कोषमा जम्मा गरिसकेका छन्
लक्ष्मी बैङ्कका मानव संसाधन विभागका प्रमुख अमित शर्माले सामाजिक सुरक्षा योजना कर्मचारीका लागि तत्कालका लागि त्यति फाइदा नभए पनि दीर्घकालका लागि धेरै राम्रो कार्यक्रम भएको बताउनुभयो । कोषले दिने औषधि उपचार सुविधा र बीमालगायतमा सुधार गर्नुपर्ने भएको भन्दै सो विभागका प्रमुख शर्माले कानुनमा भएको यी व्यवस्थामा सुधार गर्ने सर्तसहित लक्ष्मी बैङ्क कोषमा सूचीकृत भएको जानकारी दिनुभयो ।
कोषका अनुसार गएको जेठ मात्रै ५२१ रोजगारदाता प्रतिष्ठान र त्यहाँ काम गर्ने ४२ हजार ११४ जना योगदानकर्ता सूचीकृत भइसकेका छन् । कोषले गएको जेठ कोषमा सूचीकृत नभएका दुई बैङ्क र एक कम्पनीलाई आर्थिक कारबाही पनि गरेको छध्र
हाल सामाजिक सुरक्षा कोषमा जेठ मसान्तसम्म १४ हजार ४४० रोजगारदाता र दुई लाख ४३ हजार ९६१ जना योगदानकर्ता सूचीकृत छन् । जसमा सबैभन्दा बढी बागमती प्रदेशबाट नौ हजार ७११ रोजगारदाता प्रतिष्ठान र एक लाख ८२ हजार ६९८ योगदानकर्ता सूचीकृत भएका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशबाट १६७ रोजगारदाता र ५८४ जना योगदानकर्ता कोषमा सूचीकृत भएका छन् । कोषका अनुसार प्रदेश १ बाट एक हजार ६० रोजगारदाता र त्यहाँ योगदान गर्ने २५ हजार १९० जना सूचीकृत भइसकेका छन् । त्यसैगरी क्रमशः प्रदेश २ बाट ६०७ रोजगारदाता र ५८४ जना सूचीकृत भएका छन् भने गण्डकी प्रदेशबाट ६५५ रोजगारदाता र त्यहाँ काम गर्ने नौ हजार ५४१ सूचीकृत भएका छन् ।
त्यसैगरी लुम्बिनी प्रदेशबाट एक हजार २५३ रोजगारदाता र नौ हजार १३२ योगदानकर्ता सूचीकृत भएको र सुदूरपश्चिम प्रदेशबाट १८७ रोजगारदाता र ८७९ योगदानकर्ता कोषमा सूचीकृत भइसकेको कोषले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?