logo
२०८१ बैशाख १९ बुधवार



वैदेशिक रोजगारीमा वर्षभरि ७८० ठगीका उजुरी

अर्थ |


वैदेशिक रोजगारीमा वर्षभरि ७८० ठगीका उजुरी
फाइल तस्बिर


गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन १४ गते । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा गाउँघरकै दलाल, सदरमुकाम र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनीबाट ठगिने गरेका छन् । कोरोना महामारीमा पनि रोजगारीको खोजीमा रहेका युवा ठगिने क्रम रोकिएको छैन । वैदेशिक रोजगार विभागका अनुसार कोरोना महामारीमा रोजगारीको खोजीमा रहेका बेरोजगारलाई वैदेशिक रोजगार कम्पनी र दलालबाट ठगिएको उजुरी लिएर धाउने क्रम रोकएको छैन ।
एक वर्षमा वैदेशिक रोजगारीको क्रममा ठगी गरेको, विदेश पु¥याएर अलपत्र पारेको, समस्याग्रस्त कम्पनीमा पठाएको, तोकिएभन्दा बढी शुल्क लिएकोलगायत ७८० वटा ठगीका उजुरी परेको जनाइएको छ । तिनमा संस्थागततर्फ ३४९ वटा र व्यक्तिगततर्फ ४३१ वटा उजुरी छन् ।
विभागका अनुसार सो अवधिमा संस्थागत र व्यक्तिगतबाट एक अर्ब ३२ करोड ८५ लाख बिगो दाबीसहितका उजुरी आएका छन् । जसमा संस्थागततर्फको ९७ करोड ४९ लाख ७३ हजार बिगो दाबी आएको छ भने व्यक्तिगतको ३४ करोड ५८ लाख ७८ हजार रुपियाँ बिगो दाबीको उजुरी आएको विभागले जनाएको छ । विभागका अनुसार सो अवधिमा विभागबाट टुङ्गो लगाउन नसकिएका १०५ वटा ठगीका मुद्दा अदालतमा दर्ता भएका छन् । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले कोरोना महामारीमा समेत म्यानपावर कम्पनी र उनीहरूका प्रतिनिधि (एजेन्ट)बाट ठगिएको उजुरी आउने क्रम नरोकिएको जानकारी दिनुुभयो । विभागले रोजगारपीडितको समस्या हेरी उनीहरूलाई आर्थिक क्षर्तिपूर्ति भराउँदै आएको उहाँको भनाइ छ । आर्थिक वर्ष २०७६।७७ मा वैदेशिक रोजगारीका नाममा व्यक्तिगत र संस्थागत गरी दुुई हजार तीनवटा उजुरी विभागमा परेका थिए । जसमा संस्थागत ५१ करोड ३५ लाख र व्यक्तिगत ५४ लाख २३ लाख बिगो दाबीसहितको उजुरी विभागमा आएको थियो । विभागले आधाभन्दा धेरै बिगो प्रभावितलाई भराएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?