१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

होटल मजदुरको नयाँ पारिश्रमिक तोकियो

पारिश्रमिक होइन, राहत होः मजदुर

पर्यटकीय क्षेत्र पोखरामा संचालित होटल । तस्बिरः उमेश पुन÷नागरिक

कोरोना भाइरस महामारीले थलिएको पर्यटन क्षेत्रमा कार्यरत मजदुरले काममा फर्किन नपाएको अवस्थामा पनि न्यूनतम पारिश्रमिक पाउने भएका छन् । यसअघि पाउँदै आएको रकम पूनरावलोकन गर्दै मजदुरका लागि नयाँ पारिश्रमिक निर्धारण गरिएको हो । होटल संघ र मजदुरबीच नयाँ पारिश्रमिकबारे सहमति पनि भएको छ ।

होटल संघ नेपाल र पर्यटन तथा होटल क्षेत्रमा क्रियाशिल केन्द्रीय ट्रेड यूनियन तथा संघ संगठनबीच मंगलबार भएको सहमति अनुसार अब पाँचतारे होटल तथा रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीले मासिक पाँचहजार रुपैयाँ पाउनेछन् । चारतारे होटल तथा रिसोर्टमा कार्यरतले मासिक चारहजार, तीनतारे होटल तथा रिसोर्टमा काम गर्नेले मासिक तीनहजार रुपैयाँ पारिश्रमिक पाउनेछन् । त्यस्तै दुइतारे होटल तथा रिसोर्टमा कार्यरतले मासिक २५ सय रुपैयाँ पाउनेछन् । एकतारे होटल तथा रिसोर्टमा कार्यरतले मासिक २ हजार र पर्यटकस्तरीय होटलमा कार्यरतले आपसी सहमतिका आधारमा पारिश्रमिक पाउनेछन् ।  

‘पर्यटन क्षेत्र अझै उकासिने अवस्था रहेन । मजदुरलाई पलायन हुन नदिन र बेरोजगार भएको अनूभुति नहोस भनेर न्यूनतम रकममा सहमति गरेका हौ,’ नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर यूनियनका केन्द्रीय अध्यक्ष सुर्यबहादुर कुँवरले भने, ‘यो रकमले मजदुर बाच्न त सक्दैन, तर, बेरोजगार भएको अनुभूति गर्नुपर्दैन ।’ उनका अनुसार कुनैपनि प्रतिष्ठानले काममा नफर्केका मजदुरलाई कामबाट निकाल्न पाउनेछैन । घरमै बसेको अवस्थामा पनि यो रकम पाउनेछन् । यसअघि गत २८ गतेको सहमति पुस १६ गतेदेखि सकिएकोले मंगलबार नयाँ सम्झौता भएको हो । नयाँ सम्झौता अनुसार मजदुरले २०२१ को डिसेम्बर ३१ सम्म नियमित पारिश्रमिक पाउनेछन् ।  

कँुवरका अनुसार नयाँ सम्झौता अनुसार होटल संचालनका लागि आलोपालो प्रणालि अनुसार आवश्यकताको आधारमा श्रमिक काममा फर्किनेछन् । काममा फर्किएका मजदुरले खाइपाइ आएको पारिश्रमिक पाउनेछन् । तर काममा नबोलाइएको खण्डमा मात्र यो सम्झौताको रकम मजदुरले पाउने कुँवरले बताए । ‘कार्यरत मजदुरको जीवनयापनमा सहज होस भनेर यो सम्झौता गरिएको हो,’ उनले भने, ‘व्यवसायीले कामदारलाई बिदा गर्ने अवस्था आएपछि यो सहमति भएको हो ।’  

कुँवरका अनुसार कोरोनाका कारण धेरै होटल तथा रेस्टुरेन्ट अझै संचालनमा आउन सकेका छैनन् । संचालनमा आएका होटलले पनि व्यापार पाएका छैनन । विदेशी पर्यटक आउन नसकेको र आन्तरिक पाहुना पनि प्रयाप्त नहुँदा होटल तथा रेस्टुरेन्ट पूर्ण क्षमतामा संचालनमा हुन नसक्दा कार्यरत सबै मजदुरले काम पाउन सकेका छैनन । ‘काममा नर्फकेका मजदुरको हकमा यो सहमति हो । काममा लगाएको खण्डमा पहिले नै खाइपाई आएको रकम पाउनेछन,’ उनले भने, ‘यो रकमले थोरै भएपनि राहत मिल्छ भन्ने मात्र हो ।’

उनका अनुसार नेपालमा संचालित पाँच र चारतारे धेरैजसो होटल खुलेका छन् । खोलिएपनि ती सबै होटलले पूर्ण क्षमतामा पाहुना पाएका छैनन । ‘अहिले मजदुरलाई काममा जोडौं, रोजगारीबाट बिदा नगरौ भन्नका लागि मात्र यो विकल्प अपनाइएको हो,’ उनले भने, ‘कतिपय होटलले कामदारलाई जर्बजस्ती निकाल्न खोजेकोले त्यो रोक्न खाजेका हौ । कामबाट निस्किन नपरेका ती मजदुरले कम्तिमा रोजगारीमा निरन्तरता रहेको बुझ्न सक्नेछन् ।’ कामबाट सधैंका लागि हात धुनुनपरोस भनेर यो सम्झौता गरेको उनले बताए । ‘मजदुर र प्रतिष्ठानलाई एकअर्कासँग जोड्न खोजिएको हो,’ उनले भने, ‘यो रकमले कोही पनि बाच्दैन । कम्तिमा मजदुरको आवद्धता नटुटोस भनेर मात्र यो सहमति भएको हो ।’  

उनका अनुसार होटल, रेस्टुरेन्ट र क्यासिनोमा मात्र कार्यरत मजदुरको संख्या करिब डेढलाख रहेको छ । ती मध्ये अहिले करिब २० प्रतिशत मजदुर काम काममा फर्केको अनुमान मजदुर संगठनको रहेको छ । पर्यटकस्तरीय ९० प्रतिशत होटल अझै बन्द रहेको पनि संगठनको अनुमान छ । ‘कोरोनाले यतिसारो अप्ठेरो पर्नेमा अनुमान थिएन । रोगको कोरोना त गए सरह भयो । तर,भोकको कोरोना गएन, त्यही भएर पनि यो सहमति गर्न बाध्य भयौ,’ कुँवरले भने ।

अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघका केन्द्रीय अध्यक्ष माधव पाण्डेले पनि कम्पनिले मान्छेलाई काममा फर्काउन नसक्दाको अवस्थाका लागि यो पारिश्रमिक दिने सहमति भएको बताए । ‘मजदुरलाई काममा फर्काउन नसकेको अवस्थामा मात्र यो लागु हुनेछ,’ उनले भने । उनका अनुसार सकेसम्म मजदुरलाई १५ दिन काममा बोलाउनुपर्नेेछ, १५ दिन पनि काममा बोलाउन नसकेको अवस्थामा यो लागु हुनेछ ।’ यसअघिको सहमति अनुसार मजदुरले पाँचतारेमा कार्यरतले मासिक १० हजार, चारतारेमा कार्यरतले ८ हजारदेखि ८५ सय, तीनतारेमा कार्यरतले पाँचहजार, दुईतारेमा कार्यरतले ४२ सय रुपैयाँ पाउँदै आएका थिए ।

पर्यटन क्षेत्रका मजदुर दशमहिनादेखि काममा फर्किन नपाएको अवस्थामा थोरै भएपनि राहत मिलोस भनेर सहमति भएको उनले बताए । ‘यो रकमले पनि बाच्न सक्ने अवस्था रहन्न, राज्यले केही राहत दिएन । तर, निजी क्षेत्रका लगानीकर्ताले श्रमिक ठानेर दिएको रकमलाई राहत मानेका छौ,’ पाण्डेले भने, ‘यो पारिश्रमिक होइन, राहत हो ।’  

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुलीले पनि बोलाएको बेला मात्र काममा फर्किनेगरि घरमै बसेका मजदुरले पनि अहिलेको रकम पाउने बताए । ‘व्यवसायी आफै समस्यामा छन् । आफ्ना कर्मचारीलाई थोरै भएपनि सहानुभूतिका लागि यो रकम दिन तयार भएका हुन,’ पराजुलीले भने, ‘यो रकम न्यून हो, दिएको रकमले एकजना मजदूर पनि बाच्नै सक्दैनन । तर, व्यवसायीले ऋण लिएर भएपनि दिएका छन, यसलाई नै ठुलो मान्नुपर्ने अवस्था छ ।’ तलबको रुपमा मात्र नभई यसलाई मजदुरले राहतको रुपमा बुझ्नुपर्ने उनले बताए । ‘कर्मचारीलाई संस्थासँगको आवद्धताका लागि मात्र यो रकम दिएका हुन्,’ उनले भने, ‘यो रकमले एकजनालाई पनि मासिक खर्च पुग्दैन, तर, व्यवसायीले आँट गरेर राहत दिएका हुन् ।’

प्रकाशित: १४ माघ २०७७ १२:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App