१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख २७ बुधबार ०८:३९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मन्दीले रोजगारीमा पार्ने प्रभाव न्यूनीकरण गर्न सरकारसँगको सहकार्य आवश्यक : महासंघ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख २७ बुधबार ०८:३९:००

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रम बजारको मागअनुसारको सीप विकासमा जोड दिएका छन् । मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँगको भेटमा उनले वैदेशिक रोजगारीमा जाँदा लिइने केही अव्यावहारिक नीति–नियमको पुनरावलोकन हुनुुपर्ने बताए । 

ढकालले देशको अर्थतन्त्र मन्दीतर्फ गएको संकेत सरकारकै तथ्यांकहरूले पुष्टि गरिसकेको बताउँदै यस्तो अवस्थामा उद्योग–व्यवसाय सञ्चालन र रोजगारीमा पर्न सक्ने प्रभावको न्यूनीकरण गर्न तथा सम्भावित समस्याहरू सामना गर्नका लागि सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य हुनुपर्नेमा जोड दिए । 

मन्त्री भण्डारीले महासंघका सुुझावहरू मन्त्रालयका तर्फबाट गर्नुपर्ने नेतृत्वदायी भूमिकामा रहेर सहयोग गर्न आफू सकारात्मक रहेको स्पष्ट पारे । वैदेशिक रोजगारसँग सम्बन्धित नीति–नियमलाई व्यावहारिक बनाउन आफू तयार रहेको बताउँदै उनले सीप विकासलगायतका श्रम क्षेत्रका सबै विषयमा निजी क्षेत्रको सरसल्लाहमा छलफल गरी काम गर्ने विश्वास दिलाए ।

यसैबीच मंगलबार नै महासंघ अध्यक्ष ढकाल र अन्तर्राष्ट्रिय श्रम संगठनका नेपालका लागि देशीय निर्देशक नुमान ओजकानबीच भेटवार्ता भएको छ । भेटवार्तामा ढकालले विद्यमान आर्थिक अवस्था, श्रम सम्बन्ध र महासंघको वर्तमान नेतृत्वले अगाडि सारेका मुख्य प्राथमिकताका विषयबारे जानकारी गराए । उनले आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जना गर्नेलगायत अभियानलाई सफल बनाउन महासंघ र आइएओबीच सहकार्यमा जोड दिए । 

सो अवसरमा आइएलओका देशीय निर्देशक नुमान ओजकानले सीप विकास, पेसागत स्वास्थ्य सुरक्षा, सामाजिक सुरक्षा र सामाजिक संवादको विषयमा चर्चा गर्दै समावेशी आर्थिक विकासमा जोड दिए । उनले महासंघसँगको सहकार्य र सहयोग आउँदा दिनमा पनि निरन्तर रहने प्रतिबद्धता जनाए ।