+
+

कोरोनाका कारण साढे १५ लाख नेपालीले गुमाए रोजगारी

अच्युत पुरी अच्युत पुरी
२०७७ मंसिर १७ गते २१:००

१७ मंसिर, काठमाडौं । कोरोना महामारी शुरु भएयता स्वदेश र विदेशमा गरी साढे १५ लाख नेपालीले रोजगारी गुमाएको सरकारको अध्ययनले देखाएको छ ।

कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावबारे राष्ट्रिय योजना आयोगको अध्ययन प्रतिवेदनले वैदेशिक रोजगारीका लागि भारतसहितका मुलुक गएका ६ लाख ४० हजार नेपालीको रोजगारी गुमेको अनुमान छ ।

त्यस्तै, मुलुकभित्र औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत करीव ९ लाख २० हजारको आयस्रोत गुमेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ– वैदेशिक रोजगारीतर्फ विदेशमा रहेका नेपालीको अवस्थाका सम्बन्धमा यथार्थ अवस्था झल्कने चित्र पाउन सहज छैन, तर वैदेशिक रोजगारीमा रहेका नेपालीको अवस्था हेर्न विदेशबाट नेपाल फर्कन चाहने नेपालीको संख्यालाई आधार बनाइएको छ ।

नेपालमा लकडाउन शुरु भएपछि भारतबाट २ लाख ५० हजार हाराहारी नेपाली घर फर्किएर क्वारेन्टिनमा बसेका थिए । आयोगले असार मसान्तसम्मको तथ्यांकलाई आधार मानेर यो प्रतिवेदन तयार पारेको हो ।

अनौपचारिक क्षेत्रमा बढी असर

कोरोनाका कारण दैनिक ज्यालादारी गरी आम्दानी गरिरहेकाहरुको रोजीरोटी गुमेको छ । क्षेत्रगत रुपमा होटेल, रेष्टुराँ, यातायात, शैक्षिक संस्थामा काम गर्ने व्यक्तिले रोजगारी गुमाएको देखिएको छ ।

आयोगको प्रतिवेदन अनुसार औपचारिक क्षेत्रमा रोजगार बनेर तलवभत्ता पाइरहेका व्यक्तिलाई भने कोरोनाबाट त्यति ठूलो प्रभाव परेको छैन । सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्थाहरुले नियमित तलव पाएका छन् । अनौपचारिक क्षेत्रमा भने चैतयता चर्को असर परेको छ ।

लकडाउनपछि बेरोजगार बनेका करीव १० लाख मानिस शहरबाट गाउँ फर्किएको अनुमान छ । यसरी गाउँतर्फ गएको जनशक्ति कृषि कर्ममा लाग्दा स्वरोजगार बढेको तथा ग्रामीण भेगमा अन्य अनौपचारिक क्षेत्रमा भने गतविधि बढेको प्रतिवेदनमा उल्लेख छ ।

११ चैतपछि सरकारले विदेशमा हुने सबै प्रकारका उडानमा रोक लगायो । यसबीचमा करीव ५० हजार नेपाली वैदेशिक रोजगारीमा जानबाट बन्चित भएको योजना आयोगको प्रतिवेदनमा उल्लेख छ । उनीहरुलाई बेरोजगारमा गणना गरिएको छ ।

नेपाल श्रमशक्ति सर्वेक्षण २०७४/०७५ अनुसार १ करोड ५९ लाख नेपाली विभिन्न प्रकारका रोजगारीमा छन् । तीमध्ये ३२ लाख वैदेशिक रोजगारीमा रहेको अनुमान छ ।

कोरोनाबाट रोजगारीमा परेको प्रभाव

क्षेत्र आव २०७५/७६ संख्या (लाखमा) आव २०७६/७७ मा गुमेको अनुमानित रोजगारी
प्रतिशतमा संख्या (लाखमा)
औपचारिक अनौपचारिक जम्मा
आन्तरिक १५९.०५ ५.८ ३.५ ५.७ ९.२
कृषि १०३.०५ १.५ ०.१ १.५ १.५
गैर–कृषि ५६.०१ १३.७ ३.६ ४.१ ७.७
उद्योग २१.९७ १८.० १.० २.९ ४.०
सेवा ३४.०४ ११.० २.२ १.५ ३.७
बाह्य रोजगारी ३२.०० २०.० ०.० ६.४ ६.४
जम्मा १९१.१२ ८.२ ३.५ १२.१ १५.६

प्रभाव न्यूनिकरण कसरी हुनेछ ?

आर्थिक वर्ष २०७७–०७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २ लाख रोजगारी सिर्जना हुने अनुमान छ । कोरोनाले विदेशमा नेपालीको राजगारी गुमेजस्तै नेपालमा काम गरिरहेका करीव ५० हजार विदेशीले समेत रोजगारी गुमाएको अनुमान छ । उनीहरु विस्थापित भएको क्षेत्रमा ५० हजार नेपालीले रोजगारी पाउने अनुमान आयोगको अध्ययनले गरेको छ ।

निजी क्षेत्र पूर्ण रुपमा संचालनमा आउँदा ५० हजार अतिरिक्त रोजगारी सिर्जना हुनसक्ने अनुमान गरिएको छ । त्यस्तै, प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम प्रदायक संस्थाको पहलमा ७५ हजार सम्मले रोजगारी पाउने अनुमान छ ।

साना किसान कर्जा कार्यक्रमबाट ४० हजार, युवा स्वरोजगार कोषको स्वरोजगार कर्जा कार्यक्रमबाट १२ हजार, गरिबका लागि लघु उद्यमलगायत उद्योग क्षेत्रका कार्यक्रमबाट १ लाख २७ हजार र वन पैदावारमा आधारित उद्योगबाट थप ३० हजार रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?