१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
 महामारीबीच बुधबार बगान परिषरमा आन्दोलनमा उत्रिका मजदुर । तस्बिर : चिरञ्जीवी घिमिरे/नयाँ पत्रिका 
२०७८ बैशाख २३ बिहीबार १०:०६:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महामारीमा आन्दोलनमा उत्रिए पूर्वराजाको चियाबगानका मजदुर

Read Time : > 2 मिनेट
२०७८ बैशाख २३ बिहीबार १०:०६:००

झापाको दमकस्थित  पूर्वराजा ज्ञानेन्द्र शाहको चियाबगानमा कार्यरत मजदुर फेरि आन्दोलनमा उत्रिएका छन् । पूर्वराजपरिवारको स्वामित्वमा रहेको हिमालय–महालक्ष्मी चियाबगानले मजदुरसँग मागेको भाका पूरा हुँदा पनि मजदुरलाई सेवा सुविधा दिन सकेको छैन । 

लामो समयदेखि आशामा बसेका मजदुर सेवा नपाएपछि बुधबार आन्दोलनमै उत्रिए । कोरोना महामारीको वेलामा पनि उनीहरूको बगानको कार्यालय परिसरमा धर्नामा बसेका हुन् । मजदुरले गत आइतबारबाटै काम छाडेका छन् । पूर्वराजाको स्वामित्वमा रहेको यो बगान सोल्टी ग्रुपले व्यवस्थापन गर्दै आएको छ ।

सन् २०१९ बाट भने सोल्टीले मनोज अग्रवाल नाम गरेका एक भारतीय व्यवसायीलाई बगान लिजमा सञ्चालन गर्न दिएको छ । पाउने सेवासुविधाका लागि बगान सञ्चालकले पटक–पटक समय मागे पनि सेवा सुविधा उपलब्ध नगराएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । 

भारतीयले बगान सञ्चालन गर्न थालेदेखि मजदुरले समयमा ज्यालासमेत पाउन छाडेका छन् । एक महिनाभन्दा धेरै समयसम्म काम गर्दा बल्ल–तल्ल १२ दिनको ज्याला दिने गरेको मजदुरको गुनासो छ । ‘पहिला हप्तैपिच्छे ज्याल दिन्थ्यो । अहिले एक महिनाभन्दा धेरै काम गर्दा १२ दिनको पैसा दिन्छन् । यसरी कसरी व्यवहार चल्छ ? १५ दिनमा आठ हजार किस्ता तिर्नुपर्छ । ज्याला दिएको छैन भन्दा लघुवित्तले मान्दैन,’ मजदुर दीपक सुनुवारले भने, ‘कोरोना महामारीले अब फेरि लकडाउन भयो । पोहोर पनि कति भोकैपेट बसेका थियौँ । यसपटक पनि एक महिनादेखि ज्याला दिएको छैन । अब लकडाउन भयो, झनै के देला र ? रोगभन्दा भोक प्यारो भयो । महामारीमा आन्दोलन गर्नुपर्‍याे ।’

बगानले मजदुरहरूको सञ्चय कोषबापतको रकम सात वर्षदेखि जम्मा गरेको छैन । मजदुरको ज्यालाबाट १० प्रतिशत कटाए पनि अहिलेसम्म रकम जम्मा गरेको छैन । यो अवधिमा सबै मजदुरको डेढ करोडभन्दा बढी सञ्चय कोषबापतको रकम जम्मा गर्न बाँकी रहेको मजदुर कमलदीप विश्वकर्मा बताउँछन् । बगानमा लामो समय काम गरेर निवृत्त भएकाको उपदानबापतको पाँच लाख ३६ हजारभन्दा बढी रकम उपलब्ध गराउन मजदुरहरूले माग गरेका छन् । मान्छेको मृत्यु भइसक्दा पनि उपदानबापतको रकम नपाएको उनी बताउँछन् । 

यस्तै, सरकारले श्रमिकको ज्याला बढाएको ०७५ साउन १ देखि चैत १६ गतेसम्मको बढेको ज्याला मजदुरहरूले अझै पाएका छैनन् । सरकारले बढाएको ज्याला माग गर्दै त्यसवेला मजदुरहरू आन्दोलनमा उत्रिएपछि बगान सञ्चालकले आन्दोलन अवधिको ज्याला उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । 

तर, अहिलेसम्म माग पूरा भएको छैन । गत वर्ष पनि पटक–पटक आन्दोलन गर्दै मजदुरहरू श्रम कार्यालयसम्म पुगेका थिए । श्रम कार्यालयमा मजदुरले निवेदन दर्ता गराएपछि लिजमा लिएर बगान सञ्चालन गर्दै आएका भारतीय सञ्चालकले अप्रिल १५ अर्थात् गत वैशाख २ गतेसम्म माग पूरा गर्ने म्याद राखेका थिए । तर, म्याद सकिए पनि माग पूरा गर्न बगान सञ्चालकले कुनै प्रक्रिया अघि नबढाएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको मजदुर रवीन्द्र कटुवालले बताए । ‘म्याद सकिइसक्यो । अहिलेसम्म सञ्चय कोषमा पैसा हालेको छैन । हाम्रो पैसा सधैँ काट्छ । कोरोनाको डर भए पनि पेटका लागि आन्दोलन गर्नुपर्‍याे,’ उनले भने, ‘गरिब मान्छे सधैँ अन्यायमै पर्नुपर्ने ? हामीले पाउने सुविधा नपाउँदा पनि हामी चुप बस्नुपर्ने ?’

यो चियाबगानमा तीन सय १६ जना स्थायी मजदुर कार्यरत छन् । उति नै संख्यामा अस्थायी मजदुर पनि रहेका छन् । श्रम ऐनअन्तर्गत बगानमा कार्यरत मजदुरले दैनिक तीन सय ८५ रुपैयाँ पाउँदै आएका छन् । बगान सञ्चालकले पटक–पटक सम्झौता गरे पनि माग पूरा नगरेको मजदुर नेता दीपक फुँयालले बताए ।

अब तत्काल वार्तामा बसेर समस्याको समाधान गर्नुपर्ने उनले बताए । ‘समयमा माग पूरा नभएका कारण समस्या आएको हो । मजदुर आफैँले बगान बन्द गरेर आन्दोलन सुरु गरेका छन् । बगान सञ्चालक वार्तामा आउन मान्नुभएको छैन,’ उनले भने, ‘अब तत्काल वार्ता गरेर समस्याको समाधान गर्नुपर्छ । यस्तो महामारीमा मजदुरलाई आन्दोलनमा आउन बाध्य पार्नुहुँदैन ।’

अवस्था सामान्य भएपछि मात्र माग पूरा हुन्छ : प्रबन्धक ठाकुर 
हिमालय–महालक्ष्मी चियाबगान सञ्चालनका लागि भारतीय सञ्चालकले खटाएका बगानका प्रबन्धक माधव ठाकुरले अवस्था सामान्य नभएसम्म सेवा सुविधा नपाउने बताए । उनले सञ्चय कोषलगायतका माग पूरा गर्न कोरोना महामारीपछि सामान्य अवस्था भए मात्र सकिने बताए । 

‘अहिले अवस्था यस्तो छ । हामीले मागेको समयमा माग पूरा गर्न सकेका छैनौँ । मजदुरलाई अवस्था सामान्य भएपछि माग पूरा गर्छौँ भनेका छौँ,’ उनले भने, ‘हाम्रो सञ्चालकलाई पनि कोरोना लागेको छ । उहाँ निको भएपछि कुरा राखेर माग सम्बोधन गर्छौँ भनिरहेका छौँ । तर, उहाँहरू आन्दोलनमा उत्रनुभयो । काम छाडेर समस्याको समाधान हुँदैन ।’ 

ठाकुरले चियाको उत्पादन पनि राम्रो नभएकाले सेवा–सुविधा उपलब्ध गराउन मुस्किल भएको बताए । ‘हामी (भारतीय सञ्चालक)ले लिएको तीन वर्ष भयो । यसपछिको उत्पादन त्यति राम्रो छैन । सन् २०१७ अघि वर्षमा तीन लाख ५६ हजार केजीसम्म उत्पादन भएको रहेछ । पछि दुई लाख ५६ हजार मात्र पुग्न थाल्यो,’ उनले भने, ‘अरू वेला दुई महिनामा ५० हजार केजी उत्पादन भएको इतिहास छ । तर, यसपटक दुई महिनामा १३ हजार केजी मात्र छ । बगानबाट राम्रो उत्पादन भएन सबै माग पूरा गर्न सकिन्छ ।’ उनले मजदुरले पाउने एक महिनाको ज्याला एक हप्ताभित्र दिलाउन प्रयास गरिरहेको बताए ।